शहिद स्मारक ‘ए’ डिभिजन थ्रीस्टार र आर्मी बराबरीमा रोकियो

काठमाडौं : राउपाधि दावेदार थ्रीस्टार क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा थ्रीस्टार र आर्मीले १(१ गोलको बराबरी खेलेको हो

प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता थ्रीस्टारले लिएको थियो । ६८औं मिनेटमा लाकेन लिम्बुले उत्कृष्ट गोल गर्दै थ्रीस्टारको उत्साह जगाउनुभएको थियो । तर ८६औं मिनेटमा आर्मीका दिनेश हेम्जनले हेड गोल गर्दै टोलीलाई हारबाट जोगाउनुभयो ।

उहाँले सुदिल राईको पासमा अनमार्क जाली चुमाउनुभएको थियो । बराबरीसँगै थ्रीस्टार चौथो स्थानमा उक्लिएको छ । थ्रीस्टारको १८ खेलबाट २६ अङ्क पुगेको छ । समान खेलबाट २५ अङ्क बनाएको आर्मी छैटौं स्थानमा छ ।

यस्तै च्यासल मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई १(० गोलले हरायो । विभागीय डर्बीमा पुलिसलाई जिताउन विदेशी खेलाडी मोसेस ग्याबाह तुमले निर्णायक गोल गर्नुभयो ।

मोसेसले खेलको ६१औं मिनेटमा गरेको गोल पुलिसको जितमा प्रयाप्त बन्यो । जितसँगै पुलिसले १८ खेलबाट २२ अङ्क बनाएको छ । एपीएफको पनि समान खेलबाट २२ नै अङ्क पुगेको छ I

प्रतिक्रिया दिनुहोस