काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नागरिकका समयानूकुल एजेन्डाहरू बोकेर क्रान्तिकारीहरू एक ठाउँमा उभिनुपर्ने बेला भएको बताउनुभएको छ ।
सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले लामो सङ्घर्ष गरेर लोकतन्त्र प्राप्त गरे पनि पूर्णरूपमा अझै लोकतन्त्र पाउन नसकेको भन्दै अब समयानूकुल वर्तमान एजेन्डा र नागरिकको चाहना बोकेर अघि बढ्न आवश्यक भएको बताउनुभयो । लामो समय सत्तामा रहेर पनि कुनै उपलब्धि दिन नसक्दा नागरिकले नयाँ विकल्प खोजेको उहाँले उल्लेख गर्नुभयो । नागरिकले नयाँ विकल्प खोजे पनि ठम्याउन नसकेको भट्टराईको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामीले लामो सङ्घर्ष गरेर सात सालदेखिका आन्दोलन र माओवादी जनयुद्ध हुँदै आउँदा लोकतन्त्रको लडाइँ त मूलरूपमा सम्पन्न गरका छौँ तर पूर्णरूपमा विजयी पाउन सकेका होइनौँ । हामीले वैज्ञानिक भूमि सुधार गरेर किसानमा जमिनको पहुँच, शिक्षा स्वास्थ्य सामाजिक सुरक्षामा सबैको अधिकार स्थापित गर्ने कुरा, त्यसैभित्र उद्योगधन्दा खोलेर रोजगारी गर्ने काम फटाफाट गरेर जान सक्नुपर्ने थियो । हामीले सकेनौँ । त्यस कारण युवामा असन्तुष्टि छ, नयाँपन खोजिराखेको छ । नयाँ विकल्प खोजिराखे पनि ठम्याउन सकेका छैनन् । हामी समयानूकुल वर्तमान एजेन्डा र नागरिकको चाहनालाई बुझेर जान सक्नुपर्छ ।’