आवारा भनेर छोडेको पूर्वप्रेमी आफ्नै हाकिम बनेपछि…

काठमाडौं : अनु र जगतको भेट प्लस-टु पढ्दा नै भएको थियो। मेडिकल इन्ट्रान्स तयारी कक्षा पढ्न जाने क्रममा उनीहरूको भेट बाक्लियो। संयुक्त पढ्दा धेरै कुरा सिक्न सकिने भन्दै दुवै जना लाइब्रेरीमा बसेर पढ्न थाले।

पढाइ सँगसँगै दुवैभित्र रहेका अदृश्य प्रेम कुन मोडमा दृश्यमान भए दुवैले पत्तो पाएनन्। सायद मेडिकल इन्ट्रासको चर्को पढाइ बहलाउने निहुँमा आफूभित्रका भावनाका चमकहरू प्रस्फुटन गर्न दुवैले आँट गरे।

त्यो दिक्दारीयुक्त पढाइमा थौरै भए पनि प्रेमको वार्तालाप वा छहारी दुवैलाई मिठो लाग्यो। दुवैको इच्छा थियो, आइओएममा छात्रवृत्तिमा नाम निकाल्ने तर संयोग त्यस्तो जुरेन। अनुको नाम ब्याच्लर इन पब्लिक हेल्थमा निस्कियो तर जगतको निस्किएन।

त्यो रिजल्टको पीडाबोधमा पनि उनीहरूमा सन्तोषको मात्रा ज्यादा नै थियो। किनकि जहाँ रहे पनि प्रेमलाई स्थायी बनाउनेमा दुवै प्रतिबद्ध थिए। त्यसपछि जगतले त्रिचन्द्रमा बिएस्सी पढ्न थाल्यो र अनुले महाराजगञ्ज मेडिकल क्याम्पसमा जनस्वास्थ्य।

पढ्ने ठाउँ नजिकै थिए। अक्सर भेट भइराख्थ्यो। दुई जना भेट हुँदा शिवपुरीदेखि फुल्चोकीसम्म पुग्थे। जगत अनुलाई हेर्दै गुराँसका बोटहरूसँग तुलना गर्थ्यो। ुहेरिरहूँ लाग्ने भइछौु भन्दै हरेक भेटमा गुणगान गाउँथ्यो।

प्रेमका बारेमा अनेक चर्चा गरेर बिताउँथे दुवैजना। पहिलो वर्ष खासै पढाइ हुँदैनथ्यो कक्षाकोठामा। उनीहरू आफ्नो बेग्लै कक्षा निर्माण गरी तृप्तिका सौन्दर्यहरू पूरा गर्दै रमाउँथे।

विस्तारै वर्षका पन्नाहरू पल्टिँदै गए। जगत त्रिचन्द्रको विद्यार्थी राजनीतिमा होमिन थाल्यो, उता अनु पढाइमा व्यस्त हुन थाली। दुवैको भेट एकदम कम हुन थाल्यो।

फोन वार्तामा राजनीतिमा धेरै नलाग्न जगतलाई सुझाव दिने गर्थी अनु। तर राजनीतिको नशा न हो, अफिमको भन्दा कडा हुन्छ। कहिले टायर बाल्ने, कहिले ताल्चा लाउने, कहिले सडक अवरुद्ध गर्ने, कहिले पुलिसथाना पुग्ने, यस्ता जगतका हर्कतहरू देखेर अनु दिक्क हुँदै गएकी थिई। जगतले राम्रोसँग पढोस् ताकि आफ्नो ऊसँगको आगामी जीवन सफल बितोस् भन्ने सपना थियो अनुको।

ल्अभिि
राजनीतिको प्रवाहमा होमिँदा जगतले सबै चिज भुले पनि अनुलाई भुलेको थिएन। अनुले चौथो वर्षको अन्तिम परीक्षा पनि टप गरेर दिक्षित भई। तर जगत ब्याक पेपर दिँदै त्रिचन्द्रमै थियो। राजनीतिमा नै आफू परीक्षण हुने भन्दै आफ्नो विद्यार्थी जीवनकाल लम्ब्याउने मेसोमा थियो।

अनु आफ्नो पढाइ सकेर जागिर खाँदै लोक सेवाको तयारीमा लागी। जगत अनुलाई पढ्ने हौसला दिन्थ्यो। सामान्य ज्ञान, प्रस्तुतीकरण र समसामयिक कुराहरूमा पहिलेदेखि नै चासो राख्ने जगतले आफू राजनीति गरेर माथि पुग्ने र अनुलाई उच्च सरकारी कर्मचारी भएको हेर्ने धोको लिएको थियो।

गण्डकी प्रदेश लोक सेवाको जनस्वास्थ्य अधिकृतको परीक्षामा अनुको दुई नम्बरमा नाम निस्किएको सूचना हेरेर जगत एकदम खुसी भयो। बारम्बार अनुलाई फोन गर्यो बधाई दिनलाई तर अनुले फोन उठाइन। म्यासेज गर्यो तर म्यासेजको रिप्लाई आएन। अरुले फेसबुकमा दिएका बधाईहरूमा खुसी हुँदै धन्यवाद भन्दै बसेकी अनुले त्यस दिन जगतलाई पूरै इग्नोर गरी।

भोलिपल्ट अनुले लामो म्यासेज म्यासेन्जरमा छोडेर सदाका लागि ब्लक गरिदिई फेसबुकमा जगतलाई। म्यासेजमा थियो(

ुजगत, तिमी कहिल्यै सुध्रिएनौ। तिम्रो त्यो डर्टी पोलिटिक्सको इन्भल्भमेन्टले मलाई सधैं इरिटेट बनाउँछ, बनाउँथ्यो। पुलिसलाई ढुंगा हान्दै हिंड्ने तिमी आवारा भयौ। स्वार्थको मिलन नै प्रेम रहेछ जगत। हिजो हामी सकारात्मक र संयुक्त स्वार्थका कारण जोडिएका थियौं। आज हाम्रो स्वार्थ फरक(फरक भएको छ। तिम्रो कल्पना मात्र गर्दा पनि पहिले सकारात्मक केमिकल माइन्डमा सञ्चार हुन्थ्यो मेरो तर आजकल नकारात्मक केमिकल मात्र आउँछ। तिम्रो यादहरूले रिस मात्र बोकेर आउँछन् ममा अनि दिन पूरै खराब बनाएर जान्छन्। कुनै पनि घटना हुनलाई जसरी कारण चाहिन्छ, त्यसरी नै हामी प्रेममा गाँसिदा पनि केही कारण थियो र आज म तिमीबाट टाढा हुन चाहन्छु भन्दा पनि केही कारण छन्। यसलाई तिमीले राम्ररी बुझ्नेछौ। लयदार संगीतमय बनाम्ला भनेको प्रेम बोक्नै नसक्ने पहाडको भारी जस्तै भयो। यही घडीमा बिसाउने अनुमती चाहन्छु म। तिमी सुध्रिनेछौ वा छैनौ मलाई अब चासो हुनेछैन तर तिम्रो उज्ज्वल भविष्यको कामना गर्न भने चाहन्छु।ु

त्यो म्यासेज जगतले त्यो दिन दश चोटि पढ्यो अनि बिना कुनै रिप्लाई सीन गरेर मात्र छोड्यो।

त्रिविमा स्ववियु चुनाव हुने माहोल थियो। जगत क्याम्पसमा स्ववियु सभापतिमा उठ्न प्रवल दाबेदार थियो। तर उम्मेदवारी दर्ता गर्ने दिनमा आएर गुटगत समस्या र अर्को प्रतिस्पर्धीले नातावाद र धनवादको बल प्रयोग गर्दा केन्द्रबाट जगतले टिकट पाएन।

क्याम्पसमा आफ्नो राम्रो पकड हुँदाहुँदै पनि अवसर नपाउँदा यत्रो वर्ष उसले गरेको राजनीति ऊ आफैलाई फिक्का लाग्न थाल्यो। जुन दिन उसले टिकट पाएन त्यही दिन अनुको अरु कसैसँग बिहे पक्का भएको खबर जगतले पायो।

ुलोक सेवामा नाम निकालेपछि धेरै केटाहरू माग्न आएका रहेछन्, त्यसैमध्यको एकजना केटासँग बिहे पक्का गरिछे अनुलेु प्लस(टु सँगै पढेको एकजना ब्याचमेटले खबर पुर्यायो जगतसामु।

जुन राजनीतिका कारण उसले अनुलाई गुमायो, आफ्नो पढाइ र त्यागलाई गुमायो त्यही राजनीति उसको पकडभन्दा धेरै टाढा रहेको देखेपछि उसले राजनीति छोड्ने विचार गर्यो। तर देशको माया मार्न सकेन। जसोतसो त्रिचन्द्रको ब्याचलरको यात्रा टुंग्यायो र बल्खुको जनप्रशासन क्याम्पसमा जन प्रशासन विषयमा स्नातकोत्तर पढ्न थाल्यो।

लोक सेवामा नाम निकालेपछि अनुले आफूलाई आवारा बुझेको भन्ने भान जगतको मनमा गहिरो घाउ बनेको थियो। उसले त्यस घाउलाई पुर्न जसै गरेर भए पनि शाखा अधिकृतमा नाम निकाल्ने भनेर जोस्सियो। तयारी कक्षा लियो तर पहिला जस्तै ऊसँग साथ दिएर पढिदिने अनु अहिले ऊसँग थिइन।

कक्षाले मात्र नपुग्ने देखेर कीर्तिपुरमा रहेको आफ्नो डेराबाट बिहानै टियुको लाइब्रेरी गएर पढ्न थाल्यो। जब हरेक पल जगतलाई इगोले पोल्थ्यो, हरेक रमाइला क्षणहरूलाई समर्पण गरेर पढ्थ्यो। बिहानै ३ बजे उठेर जगत राति नै लाइन बस्न जान्थ्यो, लाइब्रेरीमा सिट नपाइने डरले। कसैका फोन उठाउँदैनथ्यो। फेसबुकमा ऊ सम्पर्कविहीन थियो। आफूलाई चाहिने पढाइ सामग्रीका लागि मात्र इन्टरनेट प्रयोग गर्ने गर्थ्यो।

अनकौं हार र हारपछिको पनि अनवरत प्रयासपछि तेस्रो पटकमा बल्ल जगतले संघको शाखा अधिकृतमा नाम निकाल्यो र प्रशासन रोज्यो। निकै लामो सास फेर्यो उसले नियुक्ति पत्र लिएको दिन। हिजोसम्म गिज्याएका ,तर्साएका अनेकौं सपनाहरूका अघि ऊ जित लिएर निस्कियो।

जगतलाई कास्की जिल्लाको एक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइयो। जसरी पनि देशको सेवा गर्ने अठोट लिएको जगतले त्यो दिन मात्र जीवनमा आइपर्ने अनेक कम्पन र स्पन्दनको महत्त्व बुझ्यो।

गाउँपालिकाको कार्यलयमा हाजिर हुने दिन बिहानै नुहाई धुवाई गरेर पूजा पाठसहित भोजन गरेर आमाबुवाको आशीर्वाद लिएर ऊ निस्कियो। विशाल नैराश्यमा डुबेर ढुंगो बन्नेहरूका लागि सहानुभूति र हौसलाको आँट बोकेर ऊ गाउँपालिकाको कार्यलय पुग्यो।

त्यहाँ जगतलाई स्वागत गर्न लामबद्ध थिए अन्य कर्मचारीहरू। फूलका थुंगा लिएका बसेका लहरहरूमा अघि बढ्दै गर्दा एउटा युवतीका सामु जाँदा ऊ टक्क अडियो। सिउँदोमा सिन्दुर र घाँटीमा मंगलसुत्र लाएकी ती युवतीले भिरेको आइडीकार्डमा नाम थियो, अनु गौतम। पद( जनस्वास्थ्य अधिकृत।

अनुले दिएको फूलको गुच्छा लिएर जगत अघि बढ्यो। निकै वर्षअघि प्रेम दिवसमा अनुले दिएको त्यो गुलाफको फूल र आजको पाएको त्यो फूलमा साइनोको अन्तर थियो। पहिले जगत उनको प्रेमी थियो, अहिले जगत उनको हाकिम भएर आएको छ।

न जगतलाई थाहा थियो अनु त्यसै गाउँपालिकामा कार्यरत छे भनेर, न अनुलाई थाहा थियो जगत नै हाकिम बनेर आउँदैछ भनेर। स्वागत समारोहमा स्वागत मन्तव्य पनि अनुले नै दिने गरी कार्यक्रम तय भएको रहेछ।

पहिलो पटक अनुले सम्बोधनमा जगत जी भनेर बोली त्यो दिन।

ुपहिल्यैदेखि देशका जनताका अनेकौं अवस्था बदल्ने हुटहुटी बोकेको मानिसलाई आज हामीले स्थायी सरकार मानिने कर्मचारी प्रशासनको प्रमुखका रुपमा पाउँदा हामी धेरै खुसी छौुं अनुले यसरी आफ्ना कुरा टुंग्याउँदा हलमा एकोहोरो ताली बज्यो तर जगतको ओठमा मुस्कान बलेन।

त्यसै दिन बेलुका घर पुगेपछि जगतले म्यासेन्जर खोल्यो र अनुलाई धेरै अगाडिको म्यासेजको रिप्लाइ दिन बस्यो।

ुअनु, तिमीलाई ढिलै भए पनि वैवाहिक जीवनको शुभकामना। आज हाम्रो भेट भगवानले यसरी जुराइदिएका छन् कि म तिमीसँग बदला लिउँ। तर म उत्ति साह्रो त्यति गएगुज्रेको मान्छे पनि होइन। म यो स्थानमा पुग्नुमा तिम्रो हात पनि जरुर छ तर त्यो नकारात्मक बिन्दुबाट छ। मलाई देख्दा आज तिम्रो दिमागमा कस्तो केमिकल सञ्चार भयो मलाई थाहा छैन। तर स्वार्थ मिश्रित भाव नै जन्मियो होला। किनकि भोलिदेखि तिम्रो हरेक कार्यको निगरानी गर्ने भूमिकामा म हुनेछु र त्यो भूमिकालाई आफ्नो पक्षमा पार्न तिमी माफीको सस्तो नाटक गर्ने छौ।

तिमीले भन्थ्यौ नि प्रेम हुनका लागि समेत कारण चाहिन्छ। त्यो दृष्टिकोण नै गलत छ। संसारमा यदि कुनै चीजि बिनाकारण हुन्छ भने त्यो प्रेम हो। प्रेममा शारीरिक आकर्षण, यौन, धन, शिक्षा, जात आदि कारण बनेर आए भने त्यो प्रेम हाम्रो जसरी नै टुट्छ। म तिम्रो प्रेममा हराउन चाहन्थें तर तिमीले बुझेनौ, जानेनौ र महसुस गर्न सकिनौ। यसमा अब छर्लंग नै भएर पनि केही हुँदैन। किनकि तिमी अविवाहित नै भएको भए पनि प्रयाश्चितको नाटक मञ्चन गरेर हाम्रो प्रेम टुँसाउने कुरा असम्भव थियो र छ। भोलिदेखि हामी एउटा कर्मचारीको मर्यादाक्रममा मात्र रहेर नै काम गर्नेछौं।

गुड नाइट।’

यो म्यासेज अनुले हेरी र आँसु झारी। माफीका शब्द त खोजेरै भेटिन वा उसले माफी माग्ने जरुरत ठानिन।

साभार सेतोपाटी अनलाइनबाट

प्रतिक्रिया दिनुहोस