राप्ती र बंगलाचुली जोड्ने झोलुङ्गेपुलको उद्घाटन सम्पन्न

दाङ : राप्ती गाउँपालिका वडा नं.९ को पुनखोला र बंगलाचुली गाउँपालिकाको वडा नं.८ जोड्न काउछे लामाखोलामा झोलुंगे पुल निर्माण गरिएको छ । सोमबार एक कार्यक्रमबीच राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पुलको उद्घाटन गर्नुभएको छ । आर्थिक वर्ष २०७८÷०७९ बाट पुल निर्माण शुरू गरिएको थियो ।

कुल २९ लाख ७० हजार सात सय ८३ रुपैयाँ लागत रहेको उक्त झोलुङ्गे पुल नेपाल सरकार संघीय सशर्त झोलुङ्गेपुल क्षेत्रगत केन्द्रीय अनुदानको ८५ प्रतिशत, राप्ती गाउँपालिकाको १३ प्रतिशत र लाभान्वित उपभोक्ताको दुई प्रतिशत सहभागितामा पुल निर्माण गरिएको राप्ती गाउँपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर अशोक बेलवासेले जानकारी दिनुभयो ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष खुमबहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विकट वस्तीको दिनचर्यालाई सहज बनाउने लक्ष्यका साथ गाउँपालिकाका कार्यक्रम तथा योजनाहरू अगाडि बढाउने जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी, वडा नं.९ का अध्यक्ष रिम बहादुर सुनारी, वडा नं.५ का अध्यक्ष देवप्रसाद चौधरी, पूर्वाधार शाखा प्रमुख इञ्जिनियर अशोक बेलवासे तथा स्थानीय उपभोक्ताहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिकाका अधिकृत बासु खनालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस