वैदेशिक लगानी नआउनुमा सरकारी नीति जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विदेशी लगानी नआउनुमा सरकारको नीति नियम जिम्मेवार रहेको स्वीकार गर्नु भयो।

प्रधानमन्त्री प्रचण्डले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधि आवश्यक रहेको उल्लेख गर्दै वैदेशिक लगानी आउन नसकेको स्विकारेका हुन्। यसमा चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने बताउनु भयो।

प्रधानमन्त्री प्रचण्डले अप्ठ्यारा नीति नियम सहज बनाउँदै धेरैभन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिबद्ध रहेको दाबी गरे। सरकारले विदेशी लगानीकर्तालाई चाँडै सबै खाले सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने घोषणा गर्नूु भयो।

विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा शुरु गर्ने जानकारी दिनु भयो। ​

मंगलवार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड ९सीसीपीआईटी० को संयुक्त आयोजनामा भएको नेपाल(चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भयो।

उहाँले भन्नु भयो , ‘हामीलाई पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँनयाँ प्रविधिको आवश्यक छ। यो आवश्यकता पूरा गर्न चीनले सहयोग गर्नेछ भन्ने मलाई विश्वास छ। सरकार अहिले विदेशी लगानीकर्तालाई सहज हुनेगरी वातावरण बनाउन प्रतिबद्ध छ।’

उहाँले नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधि, तरकारी, चिया, मासु लगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउनसमेत आग्रह गर्नु भयो।

नेपाल र चीनबीच पछिल्लो समय जनस्तरको सम्बन्ध पनि विकास र बिस्तार हुँदै गएको उनले चर्चा गर्नु भयो।प्रधानमन्त्री प्रचण्डले नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो।

कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध बिस्तार हुँदै आएकाले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनुपर्नेमा जोड दिए। उहाँले नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुट दिएको बताउनु भयो।

उहाँले चीन सरकारले नेपाललाई पनि पर्यटकीय गन्तव्यको रूपमा राखेकाले चिनियाँ नागरिक नेपाल भ्रमण गर्दा अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गरे। द्विपक्षीय व्यापार प्रवर्धन गर्दै जाने चीन सरकारको नीति भएको बताउनु भयो।

उहाँले आफूहरू नेपालमा लगानी र सहकार्यका लागि नयाँ क्षेत्र पहिचान गर्ने काममा लागेको पनि बताउनु भयो। उहाँले आफूहरूले नेपालसँग स्वच्छ ऊर्जा, प्रविधि र विद्युत्‌का क्षेत्रमा सहकार्य गर्ने सोच बनाएको बताउनु भयो।

कार्यक्रममा नेपालका लागि चीनका राजदूत छन सोङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘दुई छिमेकी देश चीन र नेपालबीच जनस्तरको सम्बन्धलाई बलियो बनाउनुपर्छ। हामीले दुई देशको व्यापारलाई बढाउँदै जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन जरुरी छ। जलविद्युत्, ट्रान्समिशन लाइन, भौतिक पूर्वाधार निर्माणमा लगायतका क्षेत्रमा सहयोग गर्ने हामीले सोच बनाएका छौँ।’

राजदूत सोङले नेपालीहरूलाई चीन भ्रमण गर्न आग्रह गरे। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले चीन सरकारले नेपाली सीमानाका खोलेर व्यापारका लागि सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।

नेपाल र चीनका व्यापारीबीच सोमवारदेखि छलफल शुरु भएको हो। करिब ४ वर्षपछि नेपाल र चीनका व्यवसायीबीच छलफल भएको हो। बैठकमा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङसहितको १२ सदस्यीय टोली नेपाल आएको छ।

प्रतिक्रिया दिनुहोस