दाङमा जबरजस्ती करणी आरोपमा तीनजना पक्राउ

दाङ : दाङमा प्रहरीले ४ वर्षीया नाबालिका र २९ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने तीनजना व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने घोराही उपमहानगरपालिका-१८ का ३४ वर्षीय विराज लम्साल र घरको आँगनमा सुतिरहेको अवस्थामा श्रीमान्‌लाई कुटपिट गरी २९ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने घोराही उपमहानगर-१७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

गएको शुक्रबार लम्सालले ४ वर्षीया बालिकालाई ललाई फकाई गरी पैसा दिन्छु भनी १० रुपैयाँ दिएर जबरजस्ती करणी गरी बालिकालाई बेहोस अवस्थामा छोडी भागेका थिए। पीडित बालिकाका आमाबुवा बंगलाचुली गाउँपालिका-८ मा लेबरको काम गर्दै आएको र लम्साल पनि काम गर्न शुक्रबार आएको अवस्थामा जबरजस्ती करणी गरी पीडितलाई बेहोस अवस्थामा छोडी भागेका थिए। पीडितकी आमाले खोजतलास गर्दै जाने क्रममा बालिकालाई बेहोस अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो।

लम्साललाई प्रारम्भिक अनुसन्धान पूरा गरी जबरजस्ती करणी कसुर शीर्षकमा आइतबार दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिनुभयो।​

यसैगरी प्रहरीले २९ वर्षीया महिलालाई शुक्रबार राति साढे १ बजेतिर पीडितका श्रीमान्‌लाई कुटपिट गरी सामूहिक जबरजस्ती करणी गरेको भन्ने आरोपमा शनिबार निर्मल र मनोजलाई पक्राउ गरेको हो।

विगत ३ महिनाअघि पीडित आफ्ना श्रीमान्‌को गोडाको उपचार गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएकी थिइन्। श्रीमान्‌को उपचार गर्दा पैसा सकिएपछि दुबैजना माग्दै खाँदै गर्दा बिहीबार घोराही-१७ बेलभारस्थित गजु चौधरीको घर नजिक पुगेका थिए।

रात परिसकेकाले दुबै श्रीमान् श्रीमती चौधरीको घरको आँगनमा सुतिरहेको अवस्थामा निर्मल र मनोज आई पीडितका श्रीमान्‌लाई कुटपिट गरी लतार्दै २५ मिटर पर लगेर दुबैजनाले सामूहिक जबरजस्ती करणी गरेको भन्ने आरोपमा उनीहरूलाई पक्राउ गरिएको एसपी ओलीको भनाइ छ।

दुबैजनालाई पक्राउ उनीहरूउपर सामूहिक जबरजस्ती करणीअन्तर्गत कसुर मुद्दा दर्ता गरिएको छ।

आइतबार दाङ जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप अनुमति पाएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस