उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवविरुद्ध एमालेको उजुरी

काठमाडौं : जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध नेकपा एमालेले उजुरी हालेको छ।

यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको दाबीसहित नेकपा एमालेका सांसद महेश बर्तौलासहितले शनिबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

एमालेबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्यका प्रतिनिधि एवम् सांसद बर्तौलाले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पनि पुरुष हुन नहुने मागसहित एमालेले यादवविरुद्ध उजुरी दर्ता गराएको हो।

ुराष्ट्रपतिमा खसआर्य पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा खसआर्य समुदायका पुरुषबाहेकको मात्रै उम्मेदवारी हुनसक्छ। त्यसैले उक्त पदमा पुरुष उम्मेदवार बन्न सक्दैन,ु उजुरीमा भनिएको छ, ुराष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष निर्वाचित हुने परिकल्पना संविधानले पनि गरेको छैन।ु

एमालेले संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था रहेको तर्क गरेको छ।

संविधानको उक्त धाराअनुसार फरक समुदायबाट महिलालाई उपराष्ट्रपति पदमा मनोनयन व्यवस्था मिलाउन संविधान, कानुन र समावेशीकरणको सिद्धान्तअनुरुप अनिवार्य रहेको एमालेको तर्क छ।

यादवको उम्मेदवारीमाथि कानुनी प्रश्न उठिरहेका बेला जसपाबाट प्रमिला यादवले पनि मनोयन गराएकी छन्।

कांग्रेस र माओवादी सम्मिलित सत्ता गठबन्धनबाट रामचन्द्र पौडेल राष्ट्रपति बनिसकेका छन्। त्यही गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमति भएको थियो। जसअनुसार यादवलाई उठाउने तयारी थियो।

तर उनको उम्मेदवारी विवादित भएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई उपराष्ट्रपतिमा उठाएर आफू बारा क्षेत्र नम्बर २ बाट उपनिर्वाचन लड्ने योजना बनाएका छन्।

उपराष्ट्रपति निर्वाचन आगामी चैत ३ गते हुँदैछ। अब उम्मेदवारको नाम फिर्ता र अन्तिम नाम प्रकाशन आगामी आइतवार हुनेछ।

प्रतिक्रिया दिनुहोस