पूर्वमाओवादी घटकको बैठक बालुवाटारमा सुरु

दाङ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी धारका नेताहरुसँग छलफल सुरु गर्नु भएको छ।

दाङ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले हाल विभिन्न पार्टी तथा समूहमा रहेका पूर्व माओवादी नेताहरुसँग छलफल थालेका हुन्।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, डाक्टर बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, खड्गबहादुर विक प्रकाण्ड, विश्वभक्त दुलाल आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओली लगायत छन्।

गत शुक्रबार सर्वोच्च अदालतले प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएपछि माओवादी धारका नेताहरुबीच फेरि निकटता बढेको हो।
आजको छलफल पनि द्वन्द्वकालीन मुद्दामा एक हुने विषयमा केन्द्रित हुँदैछ। बहुमत पार्टीका संयोजक बास्तोलाले भने माओवादी धारका पार्टीबीच एकता गर्नेगरी छलफल गर्न लागिएको बताउनु भयो।

केही वर्ष अगाडि काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका पाँच हजार जनाको मात्र आफूले जिम्मा लिने भनेर दिएको अभिव्यक्तिअनुसार फौजदारी अभियोग दायर हुनुपर्ने माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण तथा कल्याण बुढाथोकीले सर्वोच्च अदालतमा रिट दायर गर्न खोजेका थिए।

तर, सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिटविरुद्ध दिएको निवेदनमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले दरपीठको आदेश बदर गरिदिएपछि माओवादी नेताहरु फेरि एक ठाउँमा उभिएका छन्।

प्रतिक्रिया दिनुहोस