दाङ : इङ्लिस प्रिमियर लिग फुटबल (ईपीएल) मा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७–० गोलले हराएको छ ।
गएराति भएको खेलमा लिभरपुलका लागि कोडी गाक्पो, डार्विन नुनेज र मोहमद सलाहले २–२ गोल गरे । रोबर्टो फिर्मिन्होले एक गोल गरे ।
जितसँगै लिभरपुलले २५ खेलमा ४२ अङ्क जोडेको छ । लिभरपुल पाँचौँ स्थानमा उक्लिएको छ । युनाइटेड ४९ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस्तै, गएराति नै भएको अर्को खेलमा नोटम फरेस्ट र इभर्टनले २–२ गोलको बराबरी खेलेका छन् । नोटम फरेस्ट २६ अङ्कसहित १४औँ र इभर्टन २२ अङ्कसहित १८औँ स्थानमा छन् ।