दाङ : सुदूरपश्चिम सरकारले आज विश्वासको मत लिँदै छ। दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन लागेका हुन्।
केन्द्रमा नयाँ समीकरण बनेसँगै उत्साहित मुख्यमन्त्री कमलबहादुर शाहले छलफलविनै विश्वासको मत लिने निर्णय गरेका हुन्। फागुन २५ सम्म मत लिन सक्ने संवैधानिक व्यवस्था भए पनि हतारमा विश्वासको मत लिन खोज्नुलाई संशयका रूपमा हेरिएको छ। माओवादी र नागरिक उन्मुक्ति पार्टीले मत नदिने बताउँदा शाह नेतृत्वको सरकार पनि ढल्ने आकलन हुन थालेको छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत पाउन कम्तिमा २७ सांसद आवश्यक पर्छ। कांग्रेसका १९सहित नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद गरी २४ जनाको साथ पाएर मुख्यमन्त्री नियुक्त भएका शाहलाई मत पाउन सहज छैन।
मत पाउने अपेक्षासहित नागरिक उन्मुक्ति पार्टीलाई फकाउँदै आएका शाह संघमा राजनीतिक समीकरण फेरबदल भएसँगै पद सुरक्षित हुनेमा ढुक्क थिए। शाहले आश गरेका नागरिक उन्मुक्ति पार्टीले मत नै नदिने बताइसकेको छ भने माओवादी केन्द्रले पनि यथास्थितिमा मत नहाल्ने बताएको छ। तर, शाह विश्वासको मत पाउनेमा विश्वस्त छन्।
७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले लिखित सम्झौता नभएसम्म विश्वासको मत नदिने बताएको छ। अध्यक्ष अध्यक्ष रञ्जिता श्रेष्ठले सम्झौताबिना मत नदिने घोषणा नै गरेकी छन्।
माओवादी केन्द्रले शनिबार बसेको संसदीय दलको बैठकबाट संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा विश्वासको मत दिन नसक्ने निर्णय गरेको छ। माओवादी केन्द्रका सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले त कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावताकै आफुलाई मुख्यमन्त्री प्रस्ताव गरेकाले त्यो प्रतिवद्धता पुरा हुनुपर्ने बताए।
शाहले संविधानको धारा १६८ को उपधारा ४ अनुसार विश्वासको मत पाउन नसके उपधारा ५ अनुसार सरकार गठन प्रक्रिया अघि बढ्न सक्छ। जसमा कुनै पनि प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी प्रस्तुत गर्न दिइन्छ। त्यसरी नियुक्त भएका मुख्यमन्त्रीले उपधारा ४ अनुसार विश्वासको मत जुटाउन नसके उपाधारा ७ अनुसार प्रदेश प्रमुखले संसद विघटन गरेर छ महिनाभित्र प्रदेश सभाको अर्को निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्ने व्यवस्था छ।