दुर्गा प्रसाईंँले गरे राजसंस्था पुनःस्थापनाका लागि आन्दोलनको घोषणा

काठमाडौं : व्यवसायी दुर्गा प्रसाईंँले राजसंस्था पुनःस्थापना गर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गर्नु भएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाभियानको नाममा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यही फागुन २० गतेबाट राजसंस्था पुनःस्थापना गर्नका लागि भन्दै आन्दोलनको कार्यक्रम घोषणा गर्नु भयो।

नयाँ बानेश्वरस्थित संघीय भवनको दक्षिण गेट अगाडि प्रेम आचार्यले आत्मदाह गरेको स्थानमा आन्दोलनको कार्यक्रम सुरु गर्ने जानकारी दिँदै प्रसाईंंले त्यसमा सहभागी हुन पनि सबैलाई आह्वान गरे। त्यसक्रममा उनले आन्दोलनमा आफूहरूले २०४७ सालको संविधान लागू गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नुपर्ने, कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरूको मासिक तलव कम्तिमा १ लाख ५० हजार पुर्‍याउनुपर्नेलगायतका १५ बूँदे माग प्रस्तुत गर्ने समेत बताउनु भयो।

त्यस्तैगरी कैदी बन्दीहरूलाई जेलमुक्त गराई जेलहरूलाई श्रम शिविरमा रुपान्तरण गर्नुपर्ने, उच्च शिक्षा हासिल गर्न विदेश जानेहरूलाई यही पढने वातावरण बनाउनुपर्ने, बेरोजगार युवाहरूलाई विना धितो ऋण उपलब्ध गराई रोजगारी सृजना गर्नुपर्ने लगायतका माग पनि सरकार समक्ष गरिने प्रसाईंले बताउनु भयो।

उहाँले भने, ‘हाम्रा यी मागहरू पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ। यसमा सहमती जनाउन पूर्वराजा ज्ञानेन्द्र शाह पनि आउनु हुन्छ। यो लडाई भनेको राष्ट्रको लागि हो, राष्ट्रियताको लागि हो। व्यवस्था बदल्ने लडाई हो। हामीले धर्म खोजेको, राजा खोजेको हो।’

व्यवसायी प्रसाईंले आफूहरूको सो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए। उनले बैंक तथा वित्तीय संस्थाहरूको मारमा परेकाहरू आफूहरूको आन्दोलनमा सहभागी दावी समेत गर्नुभयो।

प्रतिक्रिया दिनुहोस