माओवादी केन्द्रको निर्णयको प्रतिक्षामा नेकपा एमाले

काठमाडौं : नेकपा एमालेले राष्ट्रपतिबारे माओवादी केन्द्रको निर्णय कुर्ने भएको छ । पुस १० को सहमति अनुसार एमालेले राष्ट्रपति लिने र माओवादीलाई प्रधानमन्त्री बनाउने सहमति भए पनि पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई साथ दिन सक्ने समाचारहरू आइरहेका र नेताहरूको दौडधुप चलिरहेका बेला एमालेले माओवादी केन्द्रको औपचारिक निर्णय आएपछि मात्रै ‘मुख खोल्ने’ नीति लिएको हो ।

माओवादी केन्द्रले सोमबार अपराह्न राष्ट्रपतिबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ । एमाले उपमहासचिव समेत रहेका नेता प्रदीप ज्ञवालीले एमाले तत्कालै कुनै निर्णय फेरबदलको नीतिमा नरहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘राष्ट्रपतिबारे पुस १० को निर्णय जे छ त्यहीँ कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो भनाई हो, त्यो भन्दा अरू हामीले अहिले सोचिसकेका छैनौँ र एक हिसाबले हामी पर्ख र हेरको नीतिमा छौ ।’

यसैबीच सोमबार बिहान एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका एमालेका केही नेताहरूसँग अध्यक्ष ओलीले नेपालको राजनीतिक अवस्था अत्यन्त जटिल बनेको भन्दै विदेशी शक्ति केन्द्रहरूले चलखेल बढाएकाले आगामी राजनीति यसै गरी अघि बढ्छ भन्न सक्ने अवस्था नरहेको बताएका छन् ।

‘विदेशी शक्ति केन्द्रहरूको चलखेल बढ्दो छ । राष्ट्रपति निर्वाचनमा उनीहरूले धेरै इन्ट्रेस्ट लिएका छन् । पुरानै गठबन्धन ब्युँत्याउन प्रयत्न समेत गरिरहेका छन्’, सोमबार बिहान अध्यक्ष ओलीलाई भेटेका एक नेताले ओलीको भनाइ उद्धृत गर्दै उहाँले भन्नु भयो, ‘कांग्रेस नेताहरूको बालुवाटार दौडधुप त्यसैको एक रूप हो ।’

त्यस्तैगरी अध्यक्ष ओलीले पूर्वसहमतिबाट प्रधानमन्त्री प्रचण्ड पछि हटेर राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेमा आश्चर्य मान्नुपर्ने अवस्था नरहेको बताउनु भयो । ‘उहाँहरूको दौडधुप बढेको छ । त्यो राम्रो सङ्केत होइन, आज माओवादीले निर्णय पनि गर्ने भनेको छ रे १ उसले कस्तो निर्णय गर्छ त्यो कुर्नुबाहेक अरू केही गर्ने अवस्था छैन’, राष्ट्रपतिबारे नेताहरूले राखेको जिज्ञासाको जवाफ दिँदै ओलीले भने,‘हेर्दै जाऔँ न १’

सोमबार बिराटनगर पुगेका अध्यक्ष ओलीले हालको सत्ता समीकरण जन्मँदै एमालेको राष्ट्रपति हुने जन्मकुण्डली बनेको प्रतिक्रिया दिएका थिए । तर माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड र पार्टीका नेताहरूलाई समेत एमालेले कसलाई राष्ट्रपतिका रूपमा अघि सार्ने भन्ने कुरा ओलीले अहिलेसम्म कसैलाई बताएका छैनन् । ओलीले राष्ट्रपतिका रूपमा अघि सार्ने उम्मेदवारबारे मुख नखोलेका कारण पनि प्रधानमन्त्री प्रचण्ड बढी नै शसंकित भएका छन् । एमालेबाट नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाल र डोरमणि पौडेल लगायतका नाम राष्ट्रपतिका लागि चर्चामा आएका छन् । यी नामहरूमध्ये सुवास नेम्वाङ र शाक्यका हकमा प्रचण्ड केही लचक भए पनि पोखरेल, रिमाल र पौडेलका हकमा प्रचण्ड सकारात्मक छैनन् ।

ओली र प्रचण्ड दुवै जना आफू अनुकुल पात्रलाई राष्ट्रपति बनाउन चाहन्छन् । प्रधानमन्त्री प्रचण्ड सकभर राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आउनु भएको छ। त्यसका लागि उनले कांग्रेससँग समेत समानान्तर रूपमा छलफल गर्दै आउनु भएको छ । सोही क्रममा आइतबार बेलुका कांग्रेस शीर्ष नेताहरू बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन् । छलफलमा कांग्रेस नेताहरूले राष्ट्रपतिमा आफूले उठाउने उम्मेदवारलाई सहयोग मागेका छन् । सोमबारै प्रधानमन्त्री प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले बालुवाटारमा छलफल गरेका छन् । उक्त छलफलमा नेपाल र यादवले सहमतिमै राष्ट्रपतिको उम्मेदवार तय गर्नुपर्ने सुझाव प्रचण्डलाई दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस