सुदूरपश्चिम प्रदेश सरकार निरन्तर चल्छ छ :मुख्यमन्त्री शाह

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्ने बताउनु भएको छ।

आज सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकारसँगको भेटघाटमा केही दिनमै आफूले विश्वासको मत लिने बताउनु भयो।

‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ। केही दिनमा हामी विश्वासको मत लिन्छौँ’, उहाँले भन्नु भयो, सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ। यहाँ अब निर्वाचन हुँदैन।’

त्यस्तैगरी उहाँलृले अहिलेको अवस्थामा कुनै पनि दलले र जनताले निर्वाचनमा जान नचाहेको दाबी गर्नुभयो। ‘निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन्। फेरि चुनावमा गए जनताले लखेट्छन्’, उहाँले भन्नु भयो।

गएको पुस २७ गते मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त हुनु भएको थियो। उहाँलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वास मत नदिएपछि रावल पदमुक्त हुनु भएको थियो।

त्यस्तैगरी संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसद्‌को सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले नेपाली कांग्रेसका शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त हुनु भएको थियो। उहाँले पनि एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने कानुनीय ब्यवस्था छ।

सुदूरपश्चिम प्रदेशमा ५३ प्रदेशसभा सदस्य रहेको सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन्। उनीहरूलाई सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन आवश्यक छ । त्यसैका लागि मुख्यमन्त्री शाहले दौडधुप बढाउनु भएको छ।

प्रतिक्रिया दिनुहोस