आज सेना दिवस मनाउँदै

दाङ : नेपाली सेनाले शनिबार विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ। नेपाली सेनाले सैनिक टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ

सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन्। उनी सेनाको परमाधिपति हुन्।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। सो दिवसका अवसरमा सैनिक मञ्चमा शस्त्राभ्यास, बढाइँ, कवाजलगायत साँस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्। यस्तै भारत र बेलायतका सैनिकको ब्याण्ड डिस्प्ले हुनेछ।

यसपटक सेना दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा भारतीय सेनाका पाँच पूर्वसेनाप्रमुख सहभागी हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो।

पूर्वसेनाध्यक्ष दलबीरसिंह सुहाग, दीपक कपुर, जोगिन्दरसिंह जसवन्त र विश्वप्रकाश शर्मा बिहीबार नै काठमाडौं आइसकेका छन्।। मनोज मुकुन्द नरवणेआज बिहान पौने ९ बजे आइपुग्ने तालिका रहेको सहायक रथी एवं प्रवक्ता भण्डारीले जानकारी दिनुभयो।

जङ्गी अड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ कमाण्ड, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ।

सेना दिवसकै अवसरमा टुँडिखेलमा ५५५ जनाले मादलको प्रस्तुति दिनेछन्।। ‘वर्ल्ड बुक अफ रेकर्ड’मा नाम लेखाउने गरी पहिलो पटक मादलको प्रस्तुति दिन लागिएको छ।

प्रतिक्रिया दिनुहोस