नुवाकोट : नुवाकोटको चैनपुरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस बिहीबार अपराह्न विदुर नगरपालिका–१२ चैनपुरमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै र १ जनाको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको नुवाकोटका डिएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो।
त्यस्तैगरी मृत्यु हुनेमा विदुर नगरपालिका-३ का बाबुराम नेपाली र विदुर नगरपालिका-६ का रामप्रसाद अर्याल छन्। मृतक अर्की एक जना महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिनुभयो।
दुर्घटनामा घाइते भएका अन्य २३ जनाको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ। बस बिहीबार अपराह्न सडकदेखि करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिनुभयो।