म्याग्दी : भ्यालेन्टाइन डेका दिन आज बेनीबजारदेखि आधा घण्टाको दूरीमा रहेको ‘मायालु डाँडा’ (लभ्ली हिल)मा तरुनी तन्नेरीको भीड लागेको छ।
माया गर्ने जोडीका लागि आकर्षक मानिएको लभ्ली हिलमा बिहानैदेखि युवायुवतीको भीड लागेको स्थानीय चन्द्रबहादुर कार्कीले जानकारी दिए।
बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा प्रणय दिवस मनाउन युवायुवतीको भीड लागेको हो।
‘मायालु डाँडामा केही दिनयता युवायुवतीको आगमन बढेको छ’, कार्कीले भने, ‘आज यहाँ प्रेमिल माहोल देखिएको थियो।’
तीन दिनयता विभिन्न जिल्लाका तीन सयभन्दा बढी युवायुवती यहाँ आएर रमाएको लभ्ली हिल खाजा घर तथा किराना पसलका सञ्चालक नारायण कार्की बताए।
केही दिनयता लभ्ली हिलमा आउने युवायुवतीले विभिन्न उपहार ल्याएका र एकापसमा साटासाट गर्ने, अंकमाल गरेको स्थानीय देवबहादुर घिमिरेले बताए।
लभ्ली हिलमा रेलिङ, गोलघर, खाजाघर लगायतका पूर्वाधार बनाइएपछि पर्यटकको आकर्षण बढ्दै गएको हो। विगतको ‘खाराको डाँडो’लाई अहिले लभ्ली हिल भनिन्छ।
लभ्ली हिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिस आउने गरेको स्थानीयको भनाइ छ। पहिले सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक लभ्ली हिल बनेपछि समूह–समूह बनाएर दैनिक रूपमा युवा पुस्ताहरू पुग्ने गरेका छन्।
लभ्ली हिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्र देख्न सकिन्छ। यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै धौलागिरी, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न पाइन्छ।