काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किने आशंका व्यक्त गरेका छन्। उनले गठबन्धन भत्काउन अनेकौं आन्तरिक र वाह्य शक्ति जुर्मुराएको आरोप पनि लगाउनु भएको छ।
अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका हुन्। उनले संसदको बनावट अस्थिरताको कारक हुने खालको रहेको भन्दै गठबन्धन भत्किने शंका व्यक्त गर्नु भएको छ।
उहाँले भन्नु भयोअहिले साथीहरू काफी प्रशन्न भएको देख्छु म। हामीले पाँचदलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ। यो सफलताको कुरा हो तर हाम्रा पार्टीका साथीहरू प्रशन्न भएको देखिन्छ। तर कथम् कदाचित यो स्थिति फेरियो भनेरु संसदको बनावट नै अस्थिरताको कारक हुने खालको छ। बहुमत कसैको छैन‚ हाम्रो पार्टीसँग बहुमत छैन।’
उहाँले देशभित्रका र बाहिरका शक्तिहरू देशलाई बर्बाद पार्न लागि परेका आरोप लगाए। एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने गेटपाले भएको दावी गर्दै उनले सबैभन्दा पहिले एमालेमाथि नै प्रहार हुनसक्ने आशंका व्यक्त गरे। उनले देशमा स्थिरता र स्थायित्व हुन नदिन अनेकौं प्रकारका षड्यन्त्रहरू भइरहेको बताउनु भयो।
‘अनेक प्रकारका, भित्रका, बाहिरका अनेक शक्तिहरू यो देश बर्बाद पार्न क्रियाशील छन्। यो देश बर्बाद पार्न सबभन्दा पहिले कुनै डाकाले बैंकमा डकैती गर्नुपर्यो भने पहिले पालेलाई प्रहार गर्छ। नेकपा एमाले यो देशमा डकैती गर्न नदिने गेटको पाले हो। यसमाथि नहानिकन भित्रै पस्न पाइँदैन‚’ ओलीले भने‚ ‘त्यसकारण पहिले यसमाथि प्रहार हुनसक्छ‚ भइआएको छ। त्यसकारण फेरि पनि हुँदैन भन्न सकिँदैन। अनेक प्रकारका शक्तिहरू क्रियाशील छन्‚ अनेक प्रकारका षड्यन्त्रहरू भइरहेका छन्। यहाँ स्थिरता, स्थायित्व हुन नदिने खालका प्रयासहरू भइरहेका छन्।’
अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताए। कसैले पनि संस्थागत रुपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भए पनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको बताउनु भयो।
उहाँले अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरू राम्रोसँग पढेर राम्रो नतिजा ल्याउने खालको हुनुपर्ने बताए। कुनै पनि बहानामा पढाई नछोड्न उनले विद्यार्थीहरूलाई आग्रह गर्नु भयो।
‘पहिले पहिले हाम्रो समयतिर खुब चल्यो, बुर्जुवा शिक्षा बहिष्कार गरौँ भन्ने कसैले। कसैले क्या मौका मिल्यो, पढ्न गाह्रो भइराखेको थियो बुर्जुवा शिक्षा बहिष्कार गरौँको नारा च्याप्प समात्यो, कुद्यो। वास्तवमा त्यो बुर्जुवा शिक्षा बहिष्कार गरौँको नारा बिल्कुल नचाहिने काम थियो। र त्यो संस्थागत रुपमा कसैले दिएको पनि होइन । केही मान्छेका लहडमा बुर्जुवा शिक्षा, मानिलिउँ सर्वहारा शिक्षाको युनिभर्सिटी कतै उनले खोलेर राखेको जस्तो‚’ उनले भने‚ ‘त्यहाँ गएर पढ्दा हुनेजस्तो। अथवा मान्छेलाई अनपढ बनाउने बाटो। म तपाईंहरूलाई भन्न चाहन्छु हाम्रा विद्यार्थी भाइबैनीहरू, अनेरास्ववियुका भाइबैनीहरू ट्यालेन्ट हुनुपर्छ। परीक्षामा प्रथम, द्वितीय, तृतिय, चौथो हुने को हो भन्दा अनेरास्ववियुका विद्यार्थी। आन्दोलनले गर्दा पढ्नै पाइएन‚ त्यस्तो कहिल्यै पनि हुँदैन।’
अध्यक्ष ओलीले आगामी स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी हुने कुरामा विश्वास व्यक्त गरे। उनले नेपाल विद्यार्थी संघले अनेरास्ववियुसँग प्रतिष्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी संगठन भर्खरै सिक्दै गरेका भनि टिप्पणी गरे। उनले नेविसंघलाई अनेरास्ववियुले जहिले पनि छक्का हान्दै आएको बताउनु भयो।
उनले भने‚ ‘नेविसंघ भनेको अनेरास्ववियुसँग जित्न नसकेर २७ सालमा, २६ सालमा निहुँ खोजेर अलग भएर २७ सालदेखि अलग्गै संगठनको रुपमा काम गरेको । २६ सालमा अनेरास्ववियु फुटाएर नेविसंघ बनाएको। अनेरास्ववियुभित्र लड्न नसकेर, अडिन नसकेर, टिक्न नसकेर भागेको संगठन हो। अब अरु पछि जन्मिएका भाइबहिनी संगठनहरू यसो खेल्दै छन्। सिक्दै छन्। ति तपाईंहरूको संगठनका भाइबैनी संगठन हुन् तिनीहरू। नेविसंघलाई हामीले जहिल्यै पनि छक्का हान्दिने गरेको हो। त्यसकारण मैले विश्वास लिएको छु यसपल्ट पनि तपाईंहरूको ब्याटिङ डरलाग्दो हुनेछ। हरेक क्याम्पसमा अनेरास्ववियु। यसरी तपाईंहरू जानुहुन्छ भन्ने मैले विश्वास लिएको छु।’
अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गरे। उनले अनेरास्ववियु उद्देश्य बोक्ने संस्था भएको भन्दै महत्वाकांक्षा बोक्नु नहुने बताउनु भयो।