कञ्चनपुर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरका ठूला गौरवका आयोजनामा बजेटको कमी हुन नदिने बताउनु भयो।
सोमबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिममा हाल सञ्चालित ठूला गौरवका आयोजनामा बजेटको कमी हुन नदिने बताउनु भयो।
प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रमा रहेका सुक्खा बन्दरगाह, जलविद्युत आयोजना, त्रिदेशीय नाका विस्तारको सबै योजना सरकारले द्रुत गतिमा अघि बढाउने बताए। उनले सुदूरका ९ वटै जिल्लामा सञ्चालित आयोजना द्रुत गतिमा अघि बढाउन सरकार नीति तथा कार्यक्रम तय गरेको बताए। उनले सुदूरका सबै आयोजना अघि बढाएर यस क्षेत्रको आर्थिक वृद्धि र विकासमा उपयोग गरिने बताउनु भयो।
प्रधानमन्त्री प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुँदा विकास आयोजना सुदूरपश्चिमबाटै शुरुवात गरेको बताए। ‘अब राम्रोलाई पुरस्कार र नराम्रोलाई कारवाही गर्छौं,‘ उनले भने, ‘अबको आवश्यकता काम हो, यथास्थितिमा रुमलिने छैनौँ, जनताको निराशा आशामा बदल्छु।’
पहिलो पटक प्रधानमन्त्री हुँदा यस क्षेत्रको शैक्षिक विकासका लागि सुदूरपश्चिम विश्वविद्यालय स्थापना गरिएको र अहिले तेस्रो पटक प्रधानमन्त्री हुँदा गेटा मेडिकल कलेजलाई शहीद दथरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयअनुरुप अघि बढाउने बताउनु भयो।