काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा फर्काउने कोसिस जारी रहेको बताउनुभएको छ ।
आज बिहीवार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उपमहासचिव ज्ञवालीले पूर्वसहमतिअनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिएर सरकारमा राखिरहनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने परिस्थिति हुनु निश्चय नै दुःखद विषय हो । यसमा समीक्षा हुँदै गर्ला । त्यो पार्टीका सभापति रवि लामिछानेजीले नागरिकता पुनः प्राप्तिको सन्दर्भमा केही प्रक्रियागत त्रुटि गर्नुभएको कारणले उहाँको पद रिक्त हुन गयो । त्यसले उत्पन्न भएको समस्या देखिन्छ । तर पनि हामीले पुस १० गते यो नयाँ कोर्स निर्माण गरिरहँदा र पछि मन्त्रीमण्डल विस्तार गरिरहँदा जुन ढङ्गले शक्तिको बाँडफाँट गरेका थियौँ, त्यस हिसाबले गृह मन्त्रालय स्वतन्त्र पार्टीलाई दिइनुपर्थ्यो भन्ने हामीलाई लाग्छ । त्यसो गरेर भए पनि उहाँहरूलाई सरकारमा होल्ड गरिराख्नुपर्थ्यो । व्यक्ति कसलाई पठाउनुहुन्थ्यो, त्यो उहाँहरूको कुरा थियो । त्यसमा अलिकति असमझदारी देखियो । त्यसलाई आधार बनाएर उहाँहरू बाहिरिनुभएको छ । तर बाहिरिए पनि सरकारलाई उहाँहरूको समर्थन कायम नै छ । हाम्रो तर्फबाट उहाँहरूलाई त्यो विश्वासमा कायमै राख्ने र एउटा उपयुक्त वातावरण बनाएर सरकारमा फर्काउने कोसिस जारी छ ।’
उपमहासचिव ज्ञवालीले जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने कोसिस जारी भएको उहाँले बताउनुभयो । फरक–फरक पार्टीको बीचमा गठबन्धन हुँदा असमझदारी देखिनसक्ने भन्दै ती असमझदारीलाई समाधान गर्न सकिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उपमहासचिव ज्ञवालीले वर्तमान सत्तारूढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पार्नुभयो । एमालेले गठबन्धन टिकाउने सङ्कल्प गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।