काठमाडौं : आज बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित गरेको छ। आज विहानका लागि बोलाइएको भोलि बैठक बस्ने गरी सारिएको महासचिव देव गुरुङले जानकारी दिनुभयो।
स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले बताएको छ।
माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो।
त्यस्तैगरी जारी पदाधिकारी बैठक पनि आज नबस्ने भएको छ। यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो। महासचिव देव गुरुङ नेतृत्वको कार्यदलले नेताको कार्यविभाजन गर्ने जिम्मेवारी पाएको थियो।