दाङ : पूर्व व्रिटिस आर्मी तथा समाजसेवी मानबहादुर थापाले घोराही र तुलसीपुर उपमहानरपालिकालाई फोहोर टिप्ने औजार प्रदान गर्नुभएको छ । दाङको तुलसीपुर घर भई बेलायतमा बस्दै आउनुभएका थापाले सरसफाई नै पहिलो पहिचान भएकाले आफ्नो गाउँठाउँ प्रतिको मायालाई सफाई सँग जोड्ने प्रयास गरेको बताउनुभयो । घोराही र तुलसीपुर उपमहानरलाई चार चार थान उक्त फोहोर टिप्ने औजार हस्तान्तरण गर्नुभएको हो ।
बेलायतबाट दाङ आएको बेला उहाँले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई उक्त औजार हस्तान्तरण गर्दैै आफु देश बाहिर बसेपनि आफ्नो ठाउँको परिबर्तनका लागि सरसफाईमा आफुलाई जोड्ने बताउनुभयो । सरसफाई नै व्यक्ति, परिवार र समाजको पहिलो सुन्दरता र पहिचान भएकाले यसको प्रबद्र्धनमा सबैको भूमिका बराबर हुने बताउनुभयो । साना साना फोहोरका टुक्राहरु टिप्न सहज हुने ति औजारहरु रहेका छन् ।
साना साना फोहोरका टुक्राहरुले नै बजार कुरुप पारेका छन अब सचेतना सँगै जरिवाना गरेर भए पनि नगर सुन्दर बनाउनुपर्छ उहाँले भन्नुभयो । कार्यक्रममा नगर प्रमुख चौधरीले आफुहरुले पूर्ण सरसफाई युक्त नगर बनाउनका लागि विषेश अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । थापाले दिनुभएको उक्त औजार पनि आफुहरुको सफाई अभियानमा महत्वपूर्ण साधन बन्ने बताउनुभयो । विषेश गरि सूर्तीजन्य बस्तुका खोलहरु र अन्य प्लास्टीक जन्य बस्तुहरु चुनौतीपूर्ण बनेको भन्दै यसमा सचेत नागरिकहरुकै लापर्वाही देखिएको बताउनुभयो ।
घोराहीमा गल्ने फोहोरबाट ग्यास, मल र नगल्ने फोहोर खरिद गरेर विक्रिको काम थालनि भएकाले उक्त फोहोर टिप्ने मेसिन पनि आफुहरुको काममा महत्वपूर्ण सहयोगी बन्ने भन्दै धन्याबाद दिनुभयो । थापाले यस अघि केही बर्ष पहिले तुलसीपुरमा सञ्चालन भएको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर अभियानलाई पनि १० थान र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई पनि उक्त औजारहरु प्रदान गर्नुभएको थियो ।