सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता

काठमाडौं : प्रतिनिधिसभाको सभामुखमा नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गराएको छ।

कांग्रेसले समानुपातिक सांसद ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको हो। कांग्रेसले सत्ताबाहिर रहेका दलहरुसँगको छलफलपछि सभामुखको उम्मेदवारी दिने निर्णय गरेको हो।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा ९एकीकृत समाजवादी०का सांसद प्रकाश ज्वाला छन्।

यसअघि बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले पनि अरू दलसँगको छलफलपछि मात्रै उम्मेदवारी दिने निर्णय गरेको थियो।

सत्ता साझेदार दलका तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइसकेका छन्।

घिमिरेको प्रस्तावकमा एमालेका सुवास नेम्वाङ छन् भने समर्थकहरूमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछाने र राप्रपाका संसदीय दलका नेता राजेन्द्र लिङ्देन रहेका छन्।

बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन गर्ने संघीय संसद सचिवालयको तालिका छ।

प्रतिक्रिया दिनुहोस