दाङ : लुम्बिनी प्रदेशका नव निर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनियताको ग्रहण आज हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सभामुख तुलाराम घर्ती मगरलाई प्रदेश सभा नियमावली, २०७९ बमोजिम पद तथा गोपनियताका शपथ ग्रहण गराउने हुनु भएको छ ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा दिउँसो एक बजे शपथ ग्रहण समारोह आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । सभामुखको शपथग्रहण पश्चात उपसभामुख मेनुका खाँणको शपथ ग्रहण हुने छ । प्रदेश सभा नियमावली, २०७९ बमोजिम प्रदेश प्रमुखको उपस्थितिमा सभामुख समक्ष उपसभामुखले शपथ लिनुपर्ने छ ।
मंगलबार बसेको प्रदेश सभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रिया मार्फत निर्विरोध चयन गरिएको हो । प्रदेश सभा नियमावलीमा सभामुखले आफ्नो कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने उल्लेख छ । र उपसभामुखले आफ्नो कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा सभामुख समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने उल्लेख छ । सभामुख र उपसभामुख चयन नहुँदा सम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभा सञ्चालन गर्नु भएको थियो ।