काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा रहेको आरोप लगाएका छन्।
उहाँले सभामुख पदमा एमालेले उम्मेदवारी दिने उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल आफैैँले कांग्रेससहितका अन्य दलहरूसँग पनि सभामुखका लागि मत माग्नुपर्ने बताउनु भयो।
उपमहासचिव रिमालले सभामुख÷उपसभामुख र राष्ट्रपतिरउपराष्ट्रपति चयन दलीय सहमतिको आधारमा हुनुपर्ने लविङमा कांग्रेस नेताहरू सक्रिय भइरहेको भन्दै नेपाली कांग्रेस राजनीति गिजोल्ने विधिबाट अघि बढिरहेको बताउनु भयो।
उहाँले सत्तारूढ दलको तर्फबाट सभामुखमा आफ्नो पार्टीले उम्मेदवारी दिने र विजयी हुने सुनिश्चित रहेको दाबी समेत गर्नु भयो। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ दलमा आवद्ध भएकाले अन्य दलसँग पनि सभामुखलाई निर्वाचित गराउन मत माग्नुपर्ने बताउनु भयो।
‘नेपाली कांग्रेसले प्रधानमन्त्रीको पक्षमा विश्वासको मत हाल्दाखेरी उसको चाहीँ अदृश्य स्वार्थ छ भन्ने अन्दाज हुन्थ्यो। राजनीतिलाई गिजोल्ने विधिबाट नेपाली कांग्रेस जुन ढंगले अहिले अगाडि बढ्न खोजेको देखिन्छ, यो दुर्भाग्यपूर्ण हो। कांग्रेसको भित्री मनमा चाहिँ मुलतः राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा केही परिणाम ल्याउन सकिन्छ कि भन्ने आशय होकि भन्ने अन्दाज गर्न सकिन्छ,’ भन्नु भयो
उपमहासचिव रिमालले नयाँ सत्ता समिकरणमा संशय पैदा गर्न र कर्मचारीतन्त्रलाई दुविधामा पार्न कांग्रेस अग्रसर भइरहेको उल्लेख गर्दै त्यस्ता खालको भ्रममा नपर्न पनि आग्रह गर्नु भयो।