बाग्मती प्रदेशको सभामुख भुवन कुमार पाठकले लिए शपथ

मकवानपुर : बाग्मती प्रदेशका नवनिर्वाचित सभामुख राप्रपाका नेता भुवनकुमार पाठकले शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । निर्वाचित भएलगतै पाठकलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउनुभयो ।

शपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, विनाविभागिय मन्त्री उद्धव थापा, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकारका सचिवहरू लगायतको उपस्थिति थियो ।

त्यसैगरी आज दिउँसो प्रदेश सभामा भएको सभामुखको चुनावमा पाठक ६२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सिर्जना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस