काठमाण्ठौ : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि चार ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ।
केन्द्रको पदाधिकारीको मिलेमतोमै फिर्ता भएको कागज पुनः केन्द्रमा आएको आरोप लागेपछि आज शिक्षा मन्त्रालयको सहसचिवको टोलीसहित स्थानीय सरकारका रूपमा रहेको मध्यपुरथिमि नगरपालिकाले केन्द्रको अनुगमन गर्दै यसबारे चासो लिएको छ।
मन्त्रालयका प्रवक्ता दीपक शर्मासहितको टोलीले जनक शिक्षाको कागज प्रकरणमा आएको चर्चाको बारेमा केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झासँग जानकारी लिएको थियो। झाले केहीले केन्द्रका बारेमा भ्रम छरेको भन्दै केन्द्रमा आएको चार ट्रक कागजको गुणस्तर परीक्षण गर्न बाँकी रहेको र यसबारेमा मन्त्रालयसहितलाई छानबिन गर्न आग्रह गरेका थिए।
त्यस्तैगरी मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले केन्द्र पुगेर कागज प्रकरणका बारेमा प्रबन्ध निर्देशक झासँग जानकारी मागे।उनहरूले नगरपालिकालाई जनक शिक्षालगायतका यहाँका शैक्षिक कार्यालयले अहिलेसम्म कर नतिरेको भन्दै तत्काल नगरपालिकाले निर्धारण गरेको कर तिर्न आग्रह गरेका थिए।
केन्द्रका प्रबन्ध निर्देशक झाले जनक शिक्षामा कक्षा ११ र १२ को पुस्तक छपाइका लागि ७० ग्रामको कागज ल्याउन ठेक्का सम्झौता भए पनि असोज २५ गतेदेखि कात्तिक ४ गतेसम्म आएका एक सय ६४ टन कागज गुणस्तरहीन रहेका र ६५ ग्रामको मात्र रहेको पाइएपछि गत कात्तिक १७ गते फिर्ता गरेको बताउनु भएको थियो।
उनले भने, “केन्द्रले गुणस्तरहीन कागज फिर्ता लगेर सम्झौताअनुसार गुणस्तरीय कागज ल्याउन कात्तिक १७ गते सप्लायर्सलाई पत्र पठाएका हौँ, गत २४ र २५ गते कागज फिर्ता ग¥यो र हिजो बिदाको दिनमा कागज लिएर आएछ, गुणस्तर जाँचपछि कारबाही प्रक्रिया अगाडि बढाउँछौँ।”