सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाण्डौ : क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

नाबालिग बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने गरी गरेको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका सन्दीपलाई अदालतले २० लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।

क्रिकेटर सन्दीप लामिछानेका कानुनी सल्लाहकार अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार अदालतले २० लाख धरौटी राखेर रिहा गर्न आदेश दिएको छ । उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार सन्दीपलाई देश छाड्न नपाइने गरी धरौटी खोलिएको छ ।

त्यस्तैगरी लामिछानेलाई धरौटीमा छाड्ने आदेशमा विभिन्न सर्त राखिएको र सर्त उल्लंघन गरेमा पुन पक्राउ गर्न सकिने व्यवस्था राखिएको छ । २० पृष्ठ लामो आदेशमा सर्तसहित धरौटी खोलिएको छ । आदेश प्रमाणीकरणको काम भइरहेको रजिष्ट्रार कट्टेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस