घनश्याम भुसाल भोली नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने

काठमाण्डौ : नेकपा एमालेका पूर्व–उपमहासचिव एवम् वामपन्थी नेता घनश्याम भुसाल भोलि शुक्रवार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुहुने भएको छ । शुक्रवार नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीभित्र अन्तरविरोध हुँदादेखि भुसाल अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक हुनुहुन्थ्यो । तत्कालीन समयमा प्रधानमन्त्री रहेका ओलीले संसद् विघटन गरेपछि उहाँले चर्को विरोध गर्नुभयो । त्यस्तैगरी महाधिवेशनमा पनि ओलीको निर्देशन विपरीत भुसालले उम्मेदवारी दिनुभएको थियो ।

गएको मङ्सिर महिनाको ४ गते भएको चुनावमा एमालेले टिकट नदिएपछि उहाँले एमाले छाडेर माओवादीको समर्थनमा रुपन्देहीबाट उम्मेदवारी दिनुभएको थियो । चुनावमा पराजित भएपछि उहाँ राजनितिमा निष्क्रिय बस्नु भएको थियो ।

एकीकृत समाजवादीले घनश्याम भुसाललाई भोलि नै सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । भुसालले एकीकृत समाजवादीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस