सप्तरीमा नागरिकता किर्ते गरेको आरोपमा वडाध्यक्ष थुनामा

सप्तरी : सरकारी कागज कीर्ते तथा नागरिकता किर्ते गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ थुनामा परेका छन्।

सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनुभयो।

उनीमाथि मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौँदेखि सामाजिक सुरक्षाभत्ता अपचलन गरेको आरोप छ। मुद्दा विचाराधीन रहेकै अवस्थामा मियाँ दोस्रोपटक गत स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।

आव २०७४र०७५ देखि २०७७र०७८ सम्म ७८ जनाको नाममा किर्ते कागजात पेस गरी सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको आरोपमा वडाध्यक्ष मियाँसहित २१ जनामाथि सप्तरी जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। यो प्रकरणमा ८३ लाख रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता रकम हिनामिना भएको जनाइएको छ। यो घटनामा वडाध्यक्ष मियाँसहित २१ जनालाई प्रतिवादी बनाएर २०७७ असोज २२ गते मुद्दा दर्ता भएको छ।

मियाँसमेत २१ जनाले एकआपसमा मिलेमतो गरी यस्तो काम गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए। राज्यकोषबाट लक्षित वर्गका लागि सुविधा पुर्‍याउन सामाजिक सुरक्षा भत्ता वितरणमा सरकारी कागज र छाप किर्ते गरी एउटै व्यक्तिको नाममा दुई वटा नागरिकता नम्बरसमेत प्रचलनमा ल्याएको प्रनाउ सिंहले बताउनु भयो।

सामाजिक सुरक्षा भत्ता निकासा गरी सरकारी ८३ लाख ४१ हजार १०८ रुपैयाँ हिनामिना गरी सरकारी कागज किर्ते तथा नागरिकता किर्ते गरेको आरोपमा फरार सूचीमा रहेका मियाँ गत बिहीबार पक्राउ परेका थिए।

यो मुद्दामा तत्कालै पक्राउ परेका तत्कालीन वडासचिव विनोदकुमार ठाकुर अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा छन्।

प्रतिक्रिया दिनुहोस