काठमाण्डौ : जनता समाजवादी पार्टी नेपालले शक्ति बाँडफाँटको विषयलाई हेरेरमात्रै सरकारमा जाने–नजानेबारे निर्णय गर्ने भएको छ । आज मङ्गलवार बसेको जसपाको राजनीतिक समितिको बैठकले सरकारमा जाने–नजाने सम्बन्धमा शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राख्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राखेरमात्र सरकारमा सामेल हुने अन्यथा बाहिरबाट सरकारको समर्थन गर्ने भन्ने निर्णय हुने बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रमलाई अध्ययन गरेरमात्र त्यो निर्णय लिइने बताउनुभयो ।
त्यसैगरी बैठकले अन्य राजनीतिक दलहरूसँग पार्टी एकताका लागि वार्ता गर्न पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यहरूमा रकम जेमजोङ र गोविन्द चौधरी रहनुभएको प्रवक्ता सुमनले जानकारी दिनुभयो ।
बैठकले आउँदो माघ मसान्तभित्र पार्टीमा निष्क्रिय भएका सबै सङ्गठनहरूलाई क्रियाशील बनाउने निर्णय पनि गरेको छ ।
यस्तै गएको चुनावमा अन्तर्घात गर्नेहरूलाई सम्बन्धित पार्टी समितिले कारबाही गर्ने तथा सङ्घीय परिषद् र केन्द्रीय समिति सदस्यहरूले अन्तर्घात गरेको सम्बन्धमा छानबिन गर्न शिवलाल थापामगरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ । जसको सदस्यहरूमा देवबहादुर गुरा, बालकिशोर यादव, अशोक लगरबाग र प्रमिला यादव रहनुभएको छ ।
जसपाले पार्टीको विधान अधिवेशन गर्नका लागि केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा विधान मस्यौदा समिति पनि गठन गरेको छ । जसको सदस्यहरूमा राजेन्द्र श्रेष्ठ, रकम जेमजोङ, सुशीला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी रहनुभएको प्रवक्ता सुमनले जानकारी दिनुभयो ।