सार्वजनिक सेवालाई प्रभावकारी बनाउन गृहमन्त्री रवि लामिछानेको निर्देशन

काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहान भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले नागरिकको गुनासो नआउने गरी सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिनु भयो ।

सेवा प्रवाहमा टाइमकार्ड लागू गर्न गृहमन्त्रीको सुझाव छ । राष्ट्रिय परिचयपत्र एवम् राहदानी वितरणमा सहजीकरण गरी काठमाडौंै आउन नपर्ने वातावरण सिर्जना गर्न पनि उनले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए । १५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउन पनि गृहमन्त्रीले निर्देशन दिनुभएको गृहमन्त्रालयका सहसचिव भीष्मकुमार भूसालले जानकारी दिनुभयो ।

त्यस्तैगरी गृहमन्त्री लामिछानेले शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिनुभयो । कुनै पनि तस्कर, विचौलिया वा अवैध निकासी पैठारीकर्तालाई कुनै खालको संरक्षण हुन नदिन पनि गृहमन्त्रीले निर्देशन दिनुभयो ।
गृहमन्त्रीले मिटरब्याजी र नागरिकताविरुद्धका उजुरी छानबिनलाई तीव्रता दिन तथा जुनसुकै माध्यमबाट दर्ता भएका उजुरीहरुमाथि छानबिन गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस