हेटौंडा : बागमती प्रदेशसभा दोस्रो कार्यकालको पहिलो बैठक सोमबार शुरु भएको छ। ४ मंसिरको निर्वाचनपछि पहिलोपटक आह्वान भएको ११ औँ अधिवेशनको पहिलो प्रदेशसभा बैठक सोमबार बसेको हो।
प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको अध्यक्षतामा भएको बैठकमा ५ वटा अध्यादेश टेबल भएको छ। सोमबारको बैठकले प्रदेशसभा नियमावली २०७४ ९पहिलो संशोधनसमेत० लाई अंगीकार गरी बैठक सञ्चालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ।
बैठकमा संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन–२०७५ लाई संशोधन गर्न बनेको अध्यादेश टेबल गरेका छन्। कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईंले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश–२०७९ पेश गरेका थिए।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश–२०७९ टेबल गरेका थिए। आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गरेको बनेको अध्यादेश–२०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश–२०७९ टेबल गरेका थिए।
बैठकले सभामुख र उपसभामुख चयनको मिति तोकेको छ। बैठकमा प्रदेशसभा नियामावली पहिलो संशोधन २०७४ को नियम ११ उपनियम १ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने प्रदेशसभा सदस्य मनोनीत गरिएको छ।
उर्मिला नेपाल, भारती पाठक, ठाकुरप्रसाद ढकाल, लक्ष्मी घिमिरे तथा राजेन्द्रमान श्रेष्ठलाई सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न मनोनीत गरिएको हो। प्रदेशसभाको दोस्रो बैठक पुस २९ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।