रौतहट : प्रभु साहको नेतृत्वमा नवगठित आम जनता पार्टीको रौतहट जिल्ला अध्यक्षको जिम्मेवारी धर्मेन्द्र पटेलले पाएका छन्।
जनता समाजवादी पार्टी (जसपा) का रौतहट अध्यक्ष रहेका धर्मेन्द्र पटेलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुखमा गत कात्तिक २२ गते राजीनामा दिएर स्वतन्त्र उम्मेदवार रहेका प्रभु साहलाई सघाएका थिए। पटेलले अध्यक्षसहित पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा साहलाई सघाएपछि जसपाले ठूलो क्षति बेहोर्नु परेको थियो।
पटेलले मधेशविरोधी पार्टी एमालेसँग गठबन्धन गरेका कारण राजीनामा दिएको बताएका थिए। मधेशविरोधी रहेको एमालेसँग जसपाका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिगत स्वार्थका लागि गठबन्धन गरेको आरोपसमेत उनले लगाएका थिए। पटेलले प्रभु साहको नेतृत्वमा आम जनता पार्टीका गठन भएसँगै जिल्ला अध्यक्ष पद पाएका हुन्।
पटेलले आम जनता पार्टीमा अध्यक्ष पद पाएकोमा आफू निकै खुशी भएको बताएका छन्। जसपाजस्तै अब आम जनता पार्टीलाई पनि रौतहटमा विस्तार गर्ने उनले बताए।