माओवादी केन्द्र गण्डकी संसदीय दलको नेतामा चुमान सर्वसम्मत

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन हुनुभएको छ ।

हिजो बेलुका बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ ९२० बाट प्रत्यक्ष निर्वाचित चुमानलाई संसदीय दलको नेतामा चयन गरेको माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ज्येष्ठ सदस्य कृष्ण धितालको अध्यक्षतामा दलको बैठक बसेको थियो ।

संसदीय दलको नेता बाहेकका अन्य पदाधिकारी पछि चयन गरिने माओवादीले जनाएको छ । साठी सदस्यीय प्रदेश सभामा माओवादीका प्रत्यक्ष निर्वाचित पाँच र समानुपातिकका तीन गरी आठ सदस्य छन् ।

माओवादी केन्द्र गण्डकी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको संयुक्त बैठकले प्रदेश संसदीय दलको नेतामा चुमानलाई बनाउने र संसदीय दल बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । पार्टीको बैठकपछि संसदीय दलको बैठक बसेर दल नेता चुनेको हो ।

त्यस्तैगरी दलको नेतामा चयन हुनुभएका चुमान यसअघि गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भएर तीन वर्ष काम गर्नुभएको थियो । उहाँ पार्टीका पोलिटब्युरो सदस्य समेत हुनुहुन्छ । संसदीय दलको बैठकमा माओवादी केन्द्रका केन्द्रीय सचिव एवम् प्रतिनिधि सभामा यस दलका प्रमुख सचेतक हितराज पाण्डेले आउँदो संसद् बैठकमा जिम्मेवार भएर नागरिकका समस्यालाई उठाउन निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस