प्रधानमन्त्री पदको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ : माओवादी नेत्री शर्मा

रुपन्देही : नेकपा (माओवादी केन्द्र) का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताएकी छन् । उनले अहिले निर्वाचनको समानुपातिक मत परिमाण आउने क्रम अझै जारी रहेकाले दलका नेतालाई बाहिरभन्दा पनि पार्टी र गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्रीको विषय टुङ्ग्याउन आग्रह गरिन् ।

बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नुलाई अस्वाभाविक मान्न नहुने बताइन् । उनले प्रधानमन्त्रीको विषय बाहिर चर्चा गर्नुभन्दा पार्टीभित्र र गठबन्धन दलभित्र छलफल गरेर टुङ्ग्याउनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस