दाङ : नेकपा माओवादी केन्द्रले पोलिटव्यूरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला इन्चार्ज तोकेको छ। भण्डारीलाई कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले गरेको हस्ताक्षरित पत्रमा जिम्मेवारी दिइएको पाइएको छ।
इन्चार्ज मल्लको हस्ताक्षरित पत्रमा भनिएको छ, क। नरेश भण्डारीलाई हाम्रो पार्टी माओवादी केन्द्रको विधान २०७८ को दफा ९४० अनुसार जिल्ला समन्वय समिति जुम्लाको इन्चार्जको जिम्मेवारी दिइएको छ।
पार्टी विधानले तोके बमोजिम इन्चार्जको जिम्मेवारी वहन गरी पार्टी आन्दोलनलाई नयाँ उचाई प्रदान गर्नु अनुरोध गरिएको छ । त्यस्तै आफूलाई पार्टीले १५ वर्ष पछि फेरी इन्चार्जको जिम्मेवारी प्रदान गरेको भण्डारीले जानकारी दिनुभयो।
जुम्लामा यस अघि माओवादी नेता गजेन्द्रबहादुर महत पार्टी इन्चार्जको रुपमा थिए। २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट संघीय सांसद जितेको थियो। तर यस पटक गठबन्धन हुँदा पराजित भएपछि फेरी पहिलो पार्टी बनाउने जिम्मा भण्डारी नेतृत्वको दिइएको छ ।