म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालयमा बाला चर्तुदशीको दिन करिब साढे ४ लाख रूपैयाँ भेटी संकलन भएको छ।
मंसिर ६ गते बाला चर्तुदशीको दिन गलेश्वरधाममा छतबीज छर्न र मन्दिरको दर्शन गर्न आएका भक्तजनबाट चढेको भेटी गणना गर्दा ४ लाख ४६ हजार ९१३ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिनु भयो।
उक्त रकममध्ये ४ लाख २७ हजार ६३ रूपैयाँ मन्दिरमा चढाइएको भेटीबाट संकलन भएको हो। मन्दिर आएका भक्तजनले सहयोगस्वरुप रसिद काटेर १ लाख ६३ हजार ५८९ रूपैयाँ संकलन भएको कोषले जानकारी दिएको छ
बाला चर्तुदशीको दिनमा गलेश्वर धाममा २५ हजारभन्दा बढीले दर्शन तथा पूजापाठ गरेको कोषले जनाएको छ।
भक्तजनले चढाएको भेटी सुरक्षाकर्मीको रोहबरमा गनेर बैँकमा जम्मा गरिँदै आएको छ। कालीगण्डकीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा मनोकांक्षा पूरा हुने जनविश्वासले देशका विभिन्न स्थानबाट भक्तजनको आगमन हुँदै आएको छ।
त्यस्तैगरी गलेश्वर शिवालयमा द्वापर युगमा सतीदेवीको गला पतन भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।