दाङ : कतारमा शुरु विश्वकप फुटबलमा सोमबार युरोपियन च्याम्पियनसिपको फाइनलिस्ट इंग्ल्यान्डले एशियाली पावरहाउस इरानसँग प्रतिस्पर्धा गर्दै छ।
आज हुने ३ खेलमध्ये दिनको पहिलो खेलमा इंग्ल्यान्ड र इरान साँझ ६ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा गर्दै छन्।
समूह बी अन्तर्गत हुने खेलमा इंग्ल्यान्ड इरानलाई पराजित गर्दै सुखद सुरुवातको लक्ष्यमा रहँदा इरान भने एशियाली भूमिमा इंग्लिस टिमलाई ुसरप्राइज नतिजाु दिँदै इग्ल्यान्डविरुद्धको पहिलो खेलमा नै कीर्तिमान रच्न चाहन्छ।
युरोपियन च्याम्पियनसिपको फाइनल पुगेकाले पनि इंग्ल्यान्ड विश्वकपमा आफूलाई बलियो दाबेदार देखाउने लक्ष्यमा रहनेछ।
सन् २०२० मा घरेलु मैदानमा सम्पन्न युरोपियन च्याम्पियनसिपको फाइनलमा पुगे पनि इटालीसँग पराजित भएर उपविजेता बनेको इंग्ल्यान्ड विश्वकपमा पनि आफ्नो लयलाई निरन्तरता दिने ध्याउन्नमा रहेको छ।
इंग्ल्यान्डले सन् २०१८ को रसिया विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। त्यसैले गारेथ साउथगेटको टोलीले आज समूह ‘बी’ को पहिलो खेलमा इरानलाई सहजै हराउने आँकलन गरिएको छ। तर इरान आफ्नो ‘डार्क हर्स’को छवि दोहोर्याउन चाहन्छ।
सन् २०१८ मा इंग्ल्यान्ड सेमिफाइनलमा क्रोएसियासँग स्तब्ध हुँदा सम्भावित उपाधि भिडन्तबाट वञ्चित भएको थियो। युइएफए नेसन्स लिगमा खराब नतिजाका कारण घटुवामा परेको इंग्ल्यान्डका लागि लयमा फर्कनु नै सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ।
समूहमा इंग्ल्यान्ड, अमेरिका र वेल्स रहेकाले इरानका लागि सहज भने छैन। रुस विश्वकपको समूह चरणमा स्पेनसँग निराश भएको इरानले पोर्चुगलसँग अंक बाँडेको थियो। पहिलो खेलमा मोरक्कोमाथि इरानले जित निकालेको थियो।
इंग्ल्यान्डविरुद्ध हारले इरानको समूह चरण पार गर्ने लक्ष्य पहिलो खेलबाटै कठिन बन्न सक्छ। इरान खेल जितेर लय यसपटक कायम रहोस् भन्ने लक्ष्यमा रहेको छ।
प्रतिस्पर्धा गरे पनि अहिलेसम्म नकआउट चरणमा प्रवेश गर्न सकेको छैन। इरान र इंग्ल्यान्डबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो।