पर्वत: जिल्लाको जलजला गाउँपालिका–३ भुर्तुलाको भीरमुनिमा बुधबार साँझ भएको जिप दुर्घटनाका मृतकको परिवार र घाइतेलाई जलजला गाउँपालिकाले राहत स्वरूप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार बिहीबार बसेको गाउँपालिकाको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकबाट राहत उपलब्ध गराउने निर्णय भएको हो। जसअनुसार दुर्घटनामा परी मृत्यु भएका जिपका चालक ३० वर्षीय डम्बरबहादुर नेपालीको परिवारलाई ७५ हजार रुपैयाँ दिइने भएको छ।
थप उपचारको लागि म्याग्दीबाट पोखरा पठाइएका पाँच जनालाई जनही २० हजार रुपैयाँका दरले तथा बेनी अस्पताल म्याग्दीमा उपचाररत तीन जनालाई जनही १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताउनु भयो।
उनका अनुसार १५ वर्षीय आशिष नेपाली, १४ वर्षीय सज्जन परियार, ३० वर्षीय सुमन नेपाली, १२ बर्सिया सजना परियार र ४० बर्सिया माया दमाईको पोखरामा उपचार भइरहेको छ। उनीहरूलाई बुधवार साँझ नै थप उपचारको लागि बेनी अस्पतालबाट पोखरा लगिएको थियो।
यस्तै १३ बर्सिया सपना परियार, १६ बर्सिया विनीता परियार, र १३ बर्सिया यशोदा परियारको बेनी अस्पतालमा उपचार भइरहेको छ। २० बर्सिया प्रियङ्का बोहरा, १४ वर्षीय अजित परियार, १२ वर्षीय सन्देश रत्न, २३ वर्षीय रोशन सिंह रत्न, १८ वर्षीय रोचन सिंह रत्न र बागलुङका १६ वर्षीय नवीन बर्देवा भने बेनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
म्याग्दीको सदरमुकाम बेनी बजारबाट पर्वतको मल्लाज जाँदै गरेको ग १ ज ५२९६ नम्बरको बोलेरो जिप उकालो चढिरहेको बेला ब्रेक फेल हुँदा अनियन्त्रित भई सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो।