सर्लाही : सर्लाही क्षेत्र नम्बर ३ मा सत्तापक्षीय गठबन्धन र विपक्षी गठबन्धन दलका उम्मेदवारबीच कडा टक्कर देखिएको छ। सत्तापक्षीय गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह र विपक्षी गठबन्धन दलका उम्मेदवार हरि उप्रेतीबीच कडा प्रतिस्पर्धा हुनेभएको छ ।
साह र उप्रेती दुवै संविधानसभाका सदस्य हुन्। साह २०७० को दोस्रो संविधानसभा चुनावमा तराई मधेस सद्भावना पार्टी ९तमसपा०को समानुपातिक तर्फका संविधानसभा सदस्य हुन् भने उप्रेती नेकपा एमाले सर्लाही ३ नम्बर क्षेत्रबाट प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य हुन्।
त्यस्तै साह व्यापारी पृष्ठभूमि हुँदै २०७० सालको दोस्रो संविधानसभाबाट राजनीतिमा प्रवेश गरेका हुन्। उप्रेती २०६४ को पहिलो संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट नेकपा एमालेबाट चुनाव लडेका थिए। २०६४ सालको संविधानसभा चुनावमा पराजित उप्रेती दोस्रो संविधानसभाका सदस्य निर्वाचित भएका थिए।
२०७४ सालमा माओवादी र एमालेबीच चुनावी तालमेल भएपछि यो क्षेत्रबाट माओवादी केन्द्रका रामेश्वर राय उम्मेदवार बनेका थिए। साह २०७४ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए।
त्यस्तै उप्रेती दुईपटक २०६४, २०७० मा चुनाव लडिसकेकाले राजनीतिमा उप्रेतीको जनाधार तुलनात्मक रूपमा बलियो देखिएको पत्रकार कृष्ण एस्मालीको विश्लेषण छ। उप्रेती लामो समयदेखि राजनीतिमा सक्रिय रहेका कारण युवादेखि पाका उमेरसम्म लोकप्रिय रहेको छ।