दाङ: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाटै हुने जनाएको छ। अनलाइनबाट व्यक्ति आफैँले लिन सकिने सेवामा पनि अरूको भर पर्दा ठगीका घटना बढेको भन्दै अनलाइनबाट सेवा लिन आग्रह गरेको हो।
वैदेशिक रोजगार विभागले श्रम स्वीकृति, पुनः श्रम स्वीकृति, रकम भुक्तानी लगायतका सेवा अनलाइनमार्फत दिँदै आएको छ। मन्त्रालयले बुधबार एक सूचना जारी गरी विभागबाट हुने सम्पूर्ण काम अनलाइनबाटै हुने भएकाले भौतिक रुपमा उपस्थित नभई अनलाइनबाट सेवा लिन आग्रह गरेको छ।
आफैँले काम गर्न सकिने भएकाले बिचौलियाको पछि नलाग्न मन्त्रालयले आग्रह गरेको छ। कार्यालय आपपासमा बिचौलियाले ठगी गर्दै आएका छन्। ठगी निर्मूल गर्न मन्त्रालयले सबै सेवा अनलाइन गरेको श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह(प्रवक्ता थानेश्वर भुसालले जानकारी दिनुभयो।
त्यस्तैगरी सरकारले यी निकायबाट सेवा प्राप्त गर्न स्वदेश तथा विदेशमा रहेका सेवाग्राही विभाग वा कार्यालयमा भौतिक रुपमा उपस्थित हुन नपर्ने गरी व्यवस्था मिलाएको छ। कानुनबमोजिम लाग्ने दस्तुर अनलाइन प्रणालीबाटै भुक्तानी गर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।