दाङ : कतारमा तीन दिनपछि सुरु हुने फिफा विश्वकपले अहिले सबैको ध्यान तानेको छ । पहिलो पटक जाडो मौसममा हुन लागेको कतार विश्वकप विभिन्न विवाद र विशेषताले गर्दा चर्चामा छ । यता विश्वकपमा पुग्नु सपना जस्तै रहेको नेपाल र पाकिस्तान भने आज मैत्रीपूर्ण खेल खेल्दैछन् । खेल साँझ ५ बजे सुरु हुनेछ ।
मैत्रीपूर्ण खेल दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने र खेलाडीलाई अवसर दिने खेलका रुपमा खेलिल्छ । तर, नेपाल र पाकिस्तान आज दशरथ रंगशालमा खेल्दा यसको छुट्टै अर्थ छ । यो खेल भन्दा पनि केही माथि छ ।
नेपालको तर्फबाट हेर्दा नेपालको एक मात्र अन्तर्राष्ट्रिय मैदान दशरथ रंगशालमा नेपाली राष्ट्रिय पुरुष टिमले ५०औं खेल खेल्दैछ । यो आफैंमा एउटा कोशेढुंगा हो । सन् १९८४ मा नेपालमै भएको पहिलो दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सविरुद्ध दशरथ रंगशालमा पहिलो आधिकारिक खेल खेलेको थियो । पाकिस्तानसँगको खेल दशरथ रंगशालमा नेपालको ५०औं खेल हुनेछ ।
पाकिस्तानकोतर्फबाट हेर्दा यो खेल झन् ठूलो महत्व छ । आन्तरिक किचलोका कारण फिफा निलम्बनमा परेपछि पाकिस्तानले यसै खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दैछ ।