दाङ : निर्वाचन आयोगले उम्मेदवारहरुको पक्षरविपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएसँगै आचारसंहिता उल्लंघन हुन नदिने बताएको छ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनले निर्वाचनमा कुनैपनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताएका हुन्। उनले स्थानीय प्रशासनका कर्मचारीहरुले चुनाव लक्षित राजनीतिक दलका कुनैपनि उम्मेदवारहरुसँग पक्षरविपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने बताए।
निर्वाचन आयुक्त भण्डारीले कुनैपनि स्थानीय प्रशासनहरु उम्मेदवारहरुको पक्षरविपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन पनि सञ्चारमाध्यामहरुलाई आग्रह गरे। उनले निर्वाचनलाई असर पार्ने खालका कुनैपनि क्रियाकलाप गर्न नपाईने पनि बताए।
स्थानीय तहमा कार्यरत कर्मचारीहरु कामको सिलसिलामा राजनैतिक दलका नेता कार्यकर्ता उम्मेदवारसँग नजिक भएर काम गर्ने भएकोले निर्वाचनको समयमा पक्षरविपक्षमा उभिने सम्भावना भएको भन्दै सबै सजग हुनुपर्ने बताए। आयुक्त भण्डारीले निर्वाचन आयोग र मातहतका कार्यालयले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको गतिविधिमा सुक्ष्म ढंगले निगरानी राखेको पनि बताए।
यस्तै निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहीता उल्लंघन गर्नेहरुलाई तत्काल कारबाही गर्न आयोग सचेत रहेको बताए। अबको ३ दिन राजनीतिक दल वा त्यसका उम्मेदवारहरुले आचारसंहीता उल्लंघनको घटना बढाउने सक्ने आँकलन गरी आयोगले सोही अनुसारको सुरक्षाकर्मी परिचालनको व्यवस्था गरेको पनि बताए।
निर्वाचन आयुक्त भण्डारीले भने, ‘आचारसंहिता कुनैपनि ठाउँमा उल्लंघन हुन लागेको छ भने त्यसलाई तत्काल कारबाही गर्नुपर्छ भनेर हामी सबै पनि सचेत भएर लागेका छौं। यसको अतिरिक्त स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई पनि अब जटिल समय आउनसक्छ त्यसो भएर तपाईहरु सचेत भएर कारबाही गर्नुस् भनेर हामीले भनिसकेका छौं। त्यसो हुनाले आयोगलाई लाग्छ कि, अब यस्ता किसिमका घटनाहरु हुँदैनन्। सबै अनुशासित भएर, आचारसंहिताको परिधिभित्र रहेर आचारसंहिताको ख्याल गर्नुहुन्छ। त्यो पनि कहिलेसम्म प्रचारप्रसार गर्न पाउने हो, त्यसको सीमा निर्धारण पहिल्यै गरिएको छ। त्यो भनेर अब त्यस्तो घटना आउँदैन भन्ने होइन, आउन सक्छन्। तर त्यसलाई तत्क्षणमा नियन्त्रण गर्न हामीसँग साधन सक्षम छ। एकदम सचेत छ। सुक्ष्म ढंगले हेरिराखेको छ। र, यो तत्क्षण नियन्त्रण हुन्छ।’
गृह प्रशासनले सम्भावित झडप हुने ठाउँमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाएको उनले बताए। भण्डारीले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न गृह प्रशासनलाई पटकपटक निर्देशन दिएको पनि बताए। निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन आयोगले सबै खालका शक्ति परिचालन गरिरहेको पनि बताए।