ललितपुर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं ललितपुर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार पम्फा भुसालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताएकी छिन् ।
आइतबार ललितपुर ३ को चुनावी घरदैलो कार्यक्रममा ऊर्जामन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट आफू यसअघि पनि दुई पटक विजयी भइसकेकाले यसपटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताएकी हुन् ।
उनले आफूले ललितपुर ३ का जनताका लागि राम्रा कामहरू गरेकाले पराजय भोग्नुपर्ने अवस्था नआउने दाबीसमेत गरिन् । मन्त्री भुसालले घरदैलो कार्यक्रममा आम मतदाताहरू सत्ता गठबन्धन र विशेषगरी आफूसँग खुसी र सन्तुष्ट रहेको बताइन् ।
आसन्न निर्वाचनलाई लक्षित गरी विभिन्न क्षेत्रका प्रतिनिधि र प्रदेशसभा उम्मेदवारहरूले आफ्नो प्रचारप्रसारका लागि यतिबेला घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । आम मतदाताको घरमा पुगेर उम्मेदवारहरू आफूलाई भोट माग्न लागिपरेका छन् ।