रुपन्देही : नेपाली कांग्रेसका नेता डा। चन्द्र भण्डारीले मुलुकलाई दुरावस्थामा पुर्याउने नेताहरूलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्ने बताउनु भयो । उहाले जनताले दिएको झण्डै मत सदुपयोग गर्न नसक्ने, पार्टी फुटाउने, संविधान लत्याउने र संसद गिराउने नेता र पार्टीलाई भोट हाल्न नहुने तर्क गरेका छन्
देशले अहिले ७ खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने गरी गठबन्धन शक्तिलाई जनताले निर्वाचनबाट चुन्नुपर्ने आवश्यकता रहेको उहाको भनाइ छ ।
बिहीबार गुल्मी रुपन्देही क्षेत्र नम्बर १ बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समितिले बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले देशमा रोजगारी नदिने र युवाहरूलाई विदेश पठाउने तत्वहरुलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताउनु भयो ।
नेता भण्डारीले यसपटक पार्टीको रसिदभन्दा माथि देश सम्झेर चुनाव जिताउन आग्रह गरे । उनले आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमूना जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उनले भने,‘नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार हो । अब जो सुकैहोस्, जुन पार्टीको होस्, जतिसुकै ठूलो होस्, हामीले अब मंसिर ४ गते यी तत्वलाई पराजित गर्नुपर्छ, यो लुटेको सम्पति नेपाल आमालाई फिर्ता गर्नुपर्छ । युवाहरूलाई विदेश पठाएर नेपालमा अवसरको खोजी नगर्ने दोस्रो रोग हो ।’ बेइमान नेताहरूका कारण देश बन्न नसकेको उहाले बताउनु भयो ।
सो अवसरमा कांग्रेसका समानुपातिक उम्मेदबार त्रलोक्य प्रताप सेनले अब जनता संविधान र लोकतन्त्रको पक्षमा खुलेर गठबन्धनलाइ जिताउनुपर्ने बताए । गुल्मी क्षेत्र नम्बर १ प्रदेश सभा ‘२’ का उम्मेदवार धनेन्द्र कार्कीले गुल्मीमा गठबन्धन जित नजिक रहेको भन्दै रुपन्देहीमा रहेका सबै गुल्मेलीलाइ मत दिन जिल्ला आउन आग्रह गरे ।
गुल्मी क्षेत्र नम्बर १ प्रदेशसभा ‘१’ का उम्मेदवार सुदर्शन बराल जनमतको अबमुल्यन र जनताको अपमान गर्नेलाई मंसिर ४ मा साइजमा ल्याउनुपर्ने बताए ।