बुटवल : नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले विगतको निर्वाचनभन्दा फराकिलो मतान्तरले जित हासिल गर्ने दाबी गरेका छन् । रुपन्देही–२ मा मात्रै नभएर मुलुकभरि नै विजयी हुने गरी एमाले निर्वाचनमा होमिएको उहाको भनाइ छ ।
विकास र समृद्धिका लागि आगामी मंसिर–४ को निर्वाचनबाट जनताले एमालेलाई सबैभन्दा ठुलो दल बनाउने पौडेलले बताए । आफ्नो निर्वाचन क्षेत्र रुपन्देही–२ का विभिन्न वडाहरूमा घरदैलो अभियानलाई तीव्रता दिएका पौडेलले जनताको शासक होइन सेवक भएर आफूले काम गर्ने समेत प्रतिबद्धता गरेका छन् । ‘जनताको साझा प्रतिनिधि भएर काम गर्ने छौँ । हिजो को कहाँ, कुन पार्टीमा भन्ने हुँदैन । सबै दल, जातजाति, भाषभाषीका जनतालाई सम्मान रूपले हामीले हेर्ने छौँ,’–पौडेलले भने, ‘कसैप्रति पूर्वाग्रह नराखी साझा मानसिकताका साथ हामी अघि बढ्ने हो । ’
शुक्रवार बुटवल–११ बुद्धनगरमा घरदैलो अभियानका क्रममा बोल्दै पौडेलले बुटवल पश्चिमको क्षेत्रलाई नमुना र आधुनिक सहरको रुपमा विकसित गर्ने प्रतिबद्धता जनाएका छन् । ‘यहाँको कनेक्टिभिटीका लागि हरेक वडाहरू जोड्ने सडकलाई कालोपत्रे गरिने छ । मुख्य राजमार्गसँग जोडेर दुई लेनका सडक योजनाहरू अघि बढाइने छ,’–पौडेलले भने, ‘बुटवल पश्चिम अब पर्यटकीय र कृषि औद्योगिकीकरणमा अघि बढ्ने छ ।’
निर्माणाधीन भौतिक पूर्वाधारलाई पूर्णता दिएर अब रुपन्देहीलाई नमुना जिल्ला बनाउने उहाले बताउनु भयो । विकास आयोजनाहरूसँगै अबको ध्यान रोजगार सिर्जना, शिक्षा, स्वास्थ्यलगायतका मानवीय विकासमा केन्द्रित हुने उनको भनाइ छ ।