गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड रुपैयाँ अनुदान दिने

पर्वत : गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड रुपैयाँ अनुदान दिने भएको छ।

अनुसन्धान र नवप्रवर्तनका लागि चालु आर्थिक वर्षको बजेटबाट रकम विनियोजन भएको र अब कार्यविधि अनुसार बजेट प्रयोग गर्न पाउने भएपछि अनुसन्धानका काम अघि बढाउने अनुसन्धानकर्ता महावीर पुनले बताए। पहिले नै बजेटको व्यवस्था भएको भए पनि कार्यविधि निर्माणमा ढिलाइ हुँदा अनुसन्धानका लागि आह्वान गर्न नसकिएको उनको भनाइ छ। गत साउन महिनामा नै कार्यविधि तयार हुनुपर्नेमा हालै मात्रै तयार हुनुले पनि काम अघि बढाउने बाटो खुलेको छ।

त्यस्तैगरी १० करोड अनुदानबाट सञ्चालन गरिने अनुसन्धानका कामका लागि बनेको कार्यविधि गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन्। आविष्कार केन्द्रले मन्त्रालयसँग मिलेर विभिन्न दीर्घकालीन महत्त्वका काम गर्नेछ।

‘बल्ल कार्यविधि बनेको छ, अब योजना बनाउने काम बाँकी नै छन्। कार्यविधि अनुसारका योजनाहरू बनाउने हो।’ पुनले भने, ‘कार्यविधि समयमा नै बनेको भए हामीले योजना पनि बनाइसकेका हुन्थ्यौँ। अब कामका लागि एक दुई स्टेप बाँकी छन्। त्यो पूरा भएपछि के के गर्नेरु भन्ने योजना तयार हुन्छन्। दीर्घकालीन महत्त्वका काम हुनेछन्।’

कार्यविधि अनुसारका योजना निर्माण गरिसकेपछि कृषि, स्वास्थ्य, शिक्षा वा अरू जुन कुनै विषयमा पनि अनुसन्धान गर्न सकिने उनले बताए। केन्द्रले अनुसन्धानका लागि इच्छुकहरूलाई ‘प्रपोजल’ पेस गर्न आह्वान गर्नेछ। प्राप्त भएका प्रस्तावको अध्ययन गरेपछि कार्यविधिमा राखिएका मापदण्डको आधारमा अनुसन्धानका लागि इच्छुकहरूको छनोट हुने छ। प्रस्ताव राखिएका नयाँ तरीका, नयाँ प्रविधि, सरल उपाय लगायतका सम्भावना अध्ययन गरेर अनुसन्धानका लागि छनोट गरिने पुन बताउँछन्। केन्द्रमा ‘प्रपोजल’ प्राप्त भएपछि मात्रै अनुसन्धानको विषय र क्षेत्रको टुंगो लाग्नेछ।

गण्डकी प्रदेश सरकारले तयार पारेको कार्यविधिमा बजेटलाई कसरी प्रयोग गर्ने, सरकारी नियम अनुसारको भुक्तानको प्रक्रिया, ‘मोनिटरीङ’ कसरी गर्ने, ‘प्रोजेक्ट’ छनोट कसरी र केका आधारमा गर्ने भन्ने लगायत कुरा उल्लेख गरिएका छन्।

अनुसन्धानका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई विश्वास गरेर बजेट दिएको भन्दै पुनले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई भेटेर धन्यवाद व्यक्त गरेका छन्। उनले प्रदेश सरकारले गरेको विश्वास अनुसार सफल अनुसन्धानको लागि प्रतिबद्धता पनि व्यक्त गरे।

पुनसहितको टोलीले पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका प्रमुख, विभिन्न विभागका प्रमुख तथा प्राध्यापकसँग भेट गरेर व्यावहारिक अनुसन्धानका बारेमा छलफल पनि गरेका छन्। ‘अप्लाइड रिसर्च’ को क्षेत्रमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने बारेमा क्याम्पसमा विचार आदानप्रदान गरेको पुनले जानकारी दिनु भ एको छ ।

प्रतिक्रिया दिनुहोस