युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजार जनाको मृत्यु

दाङ : विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजार जनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०का क्षेत्रीय निर्देशकले बताएका छन्।

क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले सोमबार युरोपको पछिल्लो प्राप्त तथ्याङ्क उद्धृत गर्दै गर्मीले स्पेनमा ४ हजार, पोर्चुगलमा १ हजार, बेलायतमा ३ हजार २ सयजनाभन्दा बढी र जर्मनीमा झन्डै ४ हजार ५ सय जनाको ज्यान गएको बताएका हुन्।

युरोपका धेरै देशमा प्रचण्ड गर्मीका कारण अत्यधिक मानिसको मृत्यु भएको विवरण आएकाले ज्यान गुमाउनेको संख्या अझै बढ्ने अपेक्षा गरिएको डब्ल्युएचओ क्षेत्रीय निर्देशकले वक्तव्य जारी गर्दै बताएका छन्।

मध्य साउनमा युरोपभर चलेको अतिउष्ण वायुले धेरै जना हताहत भएको फ्रान्सको राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले पनि विश्वको तापक्रम चरमरूपमा बढिरहेको तथा मौसम र जलवायुजन्य घटनामा सयौंको ज्यान गएको बताएको छ।

बितेका ५० वर्षमा युरोपमा १ लाख ४८ हजार चरम तापका कारण मृत्यु वरण गर्न बाध्य भएका संगठनले जनाएको छ। विश्वव्यापी औसत तापक्रममा १ दशमलव १ डिग्री सेल्सियस वृद्धि भइरहेको छ।

प्रतिक्रिया दिनुहोस