नेकपा माओवादी केन्द्रले बुँदे सर्कुलर जारी गर्यो

काठमाडौं : नेकपा माओवादी केन्द्रले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मातहतका कमिटीमा ३ बुँदे सर्कुलर जारी गरेको छ ।

पार्टीका प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर अध्यक्ष पुष्पकमल दाहालले आइतबार पठाएको सर्कुलरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी दुबै एउटै चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडा रहेको स्मरण गराएको छ । सोही बमोजिम सबै प्रदेश र जिल्लाहरूले आपसी सहकार्यलाई प्रभावकारी बनाउन समेत सर्कुलरमार्फत निर्देशन दिइएको एक नेताले बताउनु भयो ।

दुबै पार्टीका प्रदेश, जिल्ला र स्थानीय स्तरका नेतृत्वका बीचमा विशेष समन्वय संरचना निर्माण गर्न पनि अध्यक्ष दाहालले सर्कुलरमार्फत निर्देशन दिनुभएको छ । यस्तै गठबन्धनका निर्वाचनसँग सम्बन्धित सबै कार्यक्रमहरूमा सम्भव भएसम्मका प्रदेश र जिल्लामा दुबै पार्टीका प्रतिनिधित्व हुने गरी एकरुपतामा सहभागी हुन पनि निर्देशन दिइएको छ ।

त्यस्तैगरी गरी पाँच दलीय गठबन्धनको असोज २७ गतेको निर्णयअनुसार अघि बढ्न माओवादीले मातहतका कमिटीलाई निर्देशन दिएको छ । जसअनुसार गठबन्धनका तर्फबाट संयुक्त अपिल प्रकाश गर्न समिति गठन गर्ने, गठबन्धनका दलहरूलाई प्रभावकारी रुपमा परिचालन गर्न केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठबन्धन गर्ने, जिल्लाको आवश्यकताअनुसार गठबन्धनका दलहरुबीच छलफल गरी आवश्यकताअनुसारका अन्य समितिहरु गठन गर्ने र सातै प्रदेशमा गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनेगरी कात्तिक ४ देखि ७ गतेसम्म संयुक्त भेला आयोजना गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस