महोत्तरी : प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्था सुदृढ बनाइँदै लगिएको छ। भारतसँग खुला सीमा जोडिएको अवस्थालाई दृष्टिगत गरी १४३ मतदान स्थललाई अतिसंवेदनशील र ११४ लाईसंवेदनशील घोषित गरिएको छ।
निर्वाचनलाई मध्यनजर गर्दै सम्भावित अवाञ्छित घुसपैठ निस्तेज गर्न सुरक्षा प्रबन्ध सुदृढ पारेको बताए। ‘जिल्ला प्रशासन अहिलेदेखि नै निर्वाचनसम्बद्ध सुरक्षा प्रबन्धमा जुटेको छ’, उनले भने, ‘निर्वाचन सुरक्षा प्रबन्धका लागि अहिलेदेखि नै एक हजार ५०० नेपाल प्रहरी र दुई हजार ८०० म्यादी प्रहरी परिचालित भइसकेका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जानकारी दिनु भएको छ ।
त्यस्तैगरी चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा निर्वाचनका लागि २५८ मतदानस्थल र ४९९ मतदान केन्द्र निर्धारण गरिएका छन्। जिल्लाका सबै मतदानस्थलको वस्तुस्थिति बुझी राख्न सुरक्षा निकायसहितको अनुगमन निरन्तर जारी राखिएको छ। ‘जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना निरन्तर सबै मतदान केन्द्रको सुरक्षा अवस्था र सम्भावित चुनौतीबारे सचेत छौँ’, प्रजिअ पहाडीले भने, ‘करिब ३९ किलोमिटर भारतीय सीमासँग जोडिएको हुँदा मधुवनी र सीतामढीका सुरक्षा अधिकारीसँग पनि सीमा सुरक्षाबारे निरन्तर संवादमा छौँ।’
निर्वाचन तयारीसँगै जिल्ला सुरक्षा समितिले योजनाबद्ध जनसम्पर्क बढाएको जनाएको छ। आम जनतासँगको प्रत्यक्ष साक्षात्कारबाट सुरक्षा अवस्थाबारे थप जानकारी प्राप्त हुँदै गएको र आम जनतामा पनि सुरक्षा व्यवस्थाबारे विश्वास बढेको पाइएको छ। निर्वाचनलक्षित सुरक्षा व्यवस्थाअनुसार सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना सम्मिलित तीन तहमा सुरक्षा परिचालनको तयारी गरेको प्रजिअ पहाडीले जानकारी दिनु भएको छ ।
त्यस्तैगरी सुरक्षा बन्दोबस्ती कार्यमा निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मतदानस्थल र उम्मेदवारको सुरक्षा, आचारसंहिताको सुक्ष्म अनुगमनलगायतका विषयलाई विशेष ध्यान दिएर सशस्त्र प्रहरीको कमाण्डमा सुरक्षा गस्ती परिचालन गरिएको छ।
‘आम मतदाताले सुरक्षाबारे ढुक्क भएर मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ’, पहाडीले भने, ‘जिल्लामा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासन र सुरक्षा निकायको योजनामा राजनीतिक दल र सबै उम्मेदवारको सद्भाव र सहयोग आवश्यक छ।’
जिल्लाका चार प्रतिनिधिसभा र आठवटै प्रदेशसभामा गरी अहिले २२६ उम्मेदवार निर्वाचन चिह्न प्राप्त गरी चुनावी प्रचारमा लागिसकेका छन्। जिल्लामा अहिले तीन लाख ९७ हजार ३० मतदाता रहेका छन्।